+

वर्षाले डढेलो नियन्त्रणमा सहज

काठमाडौँ । केही दिनयता परेको वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । वर्षाका कारण मुलुकको पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको छ ।  अझै पश्चिमका केही क्षेत्रमा नियन्त्रणमा आउन बाँकी छ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परे पनि मध्यपश्चिम र सुदुरपश्चिममा वर्षा भएको छैन । जल तथा मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाका अनुसार सोमबार र मङ्गलबार कोशी, मधेस र बागमती प्रदेशमा हल्का वर्षा हुने तथा बुधबार गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।  

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण मुलुकको पूर्वी क्षेत्रमा वर्षा भए पनि सुदुरपश्चिम र मध्यपश्चिम क्षेत्रमा वर्षा हुन सकिरहेको छैन । ‘यो प्रणाली कमजोर बन्दै गएपछिमात्रै मुलुकको पश्चिमी क्षेत्रमा वर्षा हुने छ’ उहाँले भन्नुभयो । 

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका वन डढेलोविद् सुन्दर शर्माले वर्षापछि वन डढेलो नियन्त्रणमा सहयोगी भएको बताउनुभयो । ‘सामेबार दिउँसो जाजरकोटको एक र कालिकोटका एक स्थानमा वनमा डढेलो लागेको देखिन्छ । पहिले कुनै एकै दिनमा आठ सय ५० स्थानमा डढेलो लागेको देखिएको थियो’ उहाँले भन्नुभयो– ‘वर्षाले गर्दा वन डढेलो नियन्त्रण भएको छ, तर ढुक्क भएर बस्ने भने हुँदैन ।’

वन तथा भू–संरक्षण विभागका उप–महानिर्देशक दीपक ज्ञावालीले पनि केही दिनयता परेको वर्षाका कारण पूर्वी क्षेत्र, बागमती र गण्डकी प्रदेशमा लागेको डढेलो नियन्त्रणमा सहज भएको बताउनुभयो । ‘वर्षातको कारण डढेलो नियन्त्रणमा आएको छ र थप डढेलो लाग्न पाएको छैन’ उहाँले भन्नुभयो, ‘डढेलो नियन्त्रणका अन्य प्रयासहरु भए पनि नियन्त्रणमा आइसकेको छैन । यसका लागि प्रदेश र स्थानीय सरकारको पनि सक्रियता बढ्न जरुरी छ ।’

उहाँका अनुसार सबै स्थानमा वन व्यवस्थापन हुन नसक्दा थप समस्या उत्पन्न भएको छ । ‘वनबाट काठपात निकालेर वनलाई खुला नराख्दा डढेलो नियन्त्रणमा समस्या उत्पन्न हुन्छ’ उहाँले भन्नुभयो, ‘डढेलो नियन्त्रणका लागि हामीले कुन–कुन स्थानमा डढेलो लागिरहेको छ भन्ने सबै जानकारी डिभिजनल वन अधिकृतहरुको इमेलमा पठाउँछौ, यसैका आधारमा तत्काल नियन्त्रणका लागि उहाँहरुले पहलकदमी अगाडि बढाउनुहुन्छ ।’

वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव धिरेन्द्र प्रधानले वर्षासँगै बागमती प्रदेशमा डढेलोको घटना पनि नियन्त्रण भएको जानकारी दिनुभएको छ । ‘मुख्यतया फागुन, चैत र वैशाखमा वन डढेलोको घटनाहरु बढ्छ, यसपटक पनि बागमती प्रदेशका केही स्थानमा डढेलो लागेको थियो’ उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकार वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका सचिव मोहन काफ्लेले वर्षाले डढेलो नियन्त्रणमा केही राहत पुगे पनि सतर्कता भने जारी रहनुपर्ने बताउनुभएको छ । 

‘वैशाखसम्म वन डढेलो लाग्ने समय हो, यस समयमा कसरी वनलाई डढेलोबाट जोगाउने भन्ने विषयमा व्यापक प्रचारप्रसार गर्दै आइरहेका छौँ’ उहाँले भन्नुभयो– ‘तर अझै पनि मानिस नै जानजान या असावधानीका कारण आगलागी भइरहेको छ ।’

उहाँले वन डढेलो नियन्त्रणका लागि केन्द्र, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूहहरुबीचको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ । 

सुदुरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचिव जीवनाथ पौड्लले भौगोलिक बिकटताका कारण वनमा लाग्ने डढेलो नियन्त्रणमा समस्या उत्पन्न भएको बताउनुभयो । ‘वनमा डढेलो लाग्न नदिन कस्ता गतिविधि अपनाउने भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्दै आएका छौँ, यति हुँदा हुँदै पनि मानवीय तथा अन्य कारण वनमा आगलागी भइरहेको छ’ उहाँले भन्नुभयो, ‘आगो लागिसकेपछि सतर्क भइ कसरी निभाउने भन्ने विषयमा पनि तालिम, गोष्ठीहरु सञ्चालन गर्दै आइरहेका छौँ ।’

मुलुकभरको सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) का अध्यक्ष ठाकुर भण्डारीले वर्षाका कारण सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा जनचेतना अभिवृद्धि गरिरहेका छौँ, उपभोक्ताले स्थानीय तह र सुरक्षा निकायसँग सहकार्य गरेर काम गरिरहनु भएको छ ।’ 

जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । यसप्रकारको कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै