+

अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । उहाँहरुबीच मंगलबार अर्थ मन्त्रालयमा  भेटवार्ता भएको हो । 


भेटवार्तामा उहाँहरुबीच मुलुकको समग्र अर्थतन्त्र, शहरी तथा भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायत विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटवार्तामा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रियामा सुधार गरेको  विश्व बैंकका प्रतिनिधिहरुलाई अवगत गराउनुभएको छ । 

 विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्कअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको अर्थमन्त्रीले भेटवार्तापछि जानकारी गराउनुभएको छ । 

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने उल्लेख गर्नुभएको छ । विधेयकको लक्ष्यअनुसार अघि बढ्न विश्व बैंकबाट सहयोगको अपेक्षा गरेको अर्थमन्त्रीको भनाई छ ।

विश्व बैंक दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुनेगरी विश्व बैंकले सहयोग गर्ने बताउनुभएको छ ।  उहाँले विश्व बैंकले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।  उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू  सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताउनुभएको छ । 

उहाँले वैकल्पिक विकास वित्त परिचाननसम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्र पहिचान हुनसक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ । उपाध्यक्ष जुटले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट