+

एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र

ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले) को विधान महाधिवेशन सुरु भएको छ। उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राख्दैगर्दा हल बाहिर भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशन प्रतिनिधिहरूलाई पठाउनुभएको पत्र व्यापक रूपमा वितरण भइरहेको थियो।


सनराइज हलको मुख्य गेटमा खटिएका युवा संघ र अनेरास्ववियुका नेता–कार्यकर्ताले प्रतिनिधिहरूको हातहातमा भण्डारीले लेख्नुभएको पत्र बाँडिरहेका थिए । सो पत्र करिब १,३०० शब्दको रहेको र महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले आफ्ना विचार र गुनासाहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ।

अध्यक्ष ओलीले उद्घाटन मन्तव्यमा अप्रत्यक्ष रूपमा भण्डारीसम्बन्धी विषय महाधिवेशनमा छलफल नहुने संकेत गरे पनि, बाहिर भने भण्डारी पक्षले उहाँको पत्र छ्याप्छ्याप्ती पार्दै प्रतिनिधिहरूमा चर्चा–विमर्शको माहोल सिर्जना गरेको छन् । 

पूर्वराष्ट्रपति भण्डारीले पत्रमार्फत पार्टी नेतृत्वले आफ्ना आस्था र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ। विशेषतः, एमाले केन्द्रीय कमिटीको नौौँ पूर्ण बैठकले सदस्यता नवीकरणमा प्रश्न उठाएको विषयप्रति उहाँले गम्भीर आपत्ति जनाउनुभएको छ।

भण्डारीले पत्रमा उल्लेख गर्नुभएको छः
“मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता मेरो गहिरो आस्था र विश्वासको प्रतीक हो। पार्टीले मलाई राष्ट्रपति बनाउन विशेष निर्णय गरेको थियो, मैले त्यस जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेपछि पुनः पार्टीमै संलग्न भएर योगदान दिन चाहेको हुँ। तर अहिले मेरो सदस्यता नै रोक्ने प्रयास हुनु दुःखद छ।”

उहाँको पत्रमा भनिएको छ, “यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो। यसलाई तपाईंहरूले अधिकारको रक्षा, पार्टीको सबलता र दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु।”

आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको स्मरण गर्दै भण्डारीले महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि आफू निरन्तर लडिरहेको तथ्य उजागर गर्नुभएको छ। उहाँले स्कुले जीवनदेखि नै संघर्ष र त्यागको बाटो हिँड्दै आएको बताउँदै बाँकी जीवन पनि पार्टीमै आबद्ध भएर बिताउने दृढ अठोट व्यक्त गर्नुभएको छ।

पत्रमा भण्डारीले स्मरण गर्नुभएको छ, गत बर्ष आयोजित मदन भण्डारीको ७४ औँ जन्मजयन्ती कार्यक्रममा अध्यक्ष ओली स्वयं प्रमुख अतिथि हुनुभएको बेला आफूले पार्टी सदस्यता नवीकरण भएको घोषणा सार्वजनिक गरिसकेको थिएँ। त्यस अवसरमा पार्टीप्रतिको प्रतिबद्धता स्पष्ट गर्दै बाँकी जीवन पार्टीमार्फत देश र जनताको सेवामा समर्पित गर्ने प्रतिज्ञा गरेको पनि उहाँले पत्रमा जोड दिनुभएको छ।

भण्डारीको पत्रले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबीच गम्भीर बहस र चासोको माहोल सिर्जना गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै