
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
भारतसँग जोडिएको नेपालगञ्जको वडा नम्बर १५ पिप्रहवा र वडा नम्बर १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन । उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुशी लागेको स्थानीय कैलाश यादवले बताउनुभयो । ‘हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ’ यादवले भन्नुभयो, ‘पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ ।’
नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य शुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार रुपैयाँ लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिनुभयो ।
पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको शुरुवात भएको वडा नम्बर १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताउनुभयो । उहाँले साविकको पिप्रहवा गाविस रहेको वडा नम्बर १५ भौगोलिकरुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताउनुभयो ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया शुरु भएको छ । जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुशियाली छाएको छ ।
यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताउनुभयो । वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुशी भएको वडासचिव तेजबहादुर सिंहले बताउनुभयो ।
‘जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ’ उहाँले भन्नुभयो– ‘अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ ।’
९० लाख रुपैयाँको लागतमा सडक निर्माण काम शुरु भएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जयसपुरको विकासमा यो सडकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि सबै वडावासीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने