+

कञ्चनपुरमा ५७ घर र सशस्त्र प्रहरीका दुई बीओपी डुबानमा

महेन्द्रनगर ।  अविरल वर्षाको कारण कञ्चनपुरमा ५७ घर र सशस्त्र प्रहरीका दुई बोर्डर आउट पोस्ट (बीओपी) डुबानमा परेका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी–८ रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परे र ७० जनालाई नजिकैको विद्यालयमा सारिएको छ । त्यस्तै, दोधारा चाँदनी–३ पटराखल्लामा बाँध भत्किँदा १५ घर डुबानमा परे र ५५ जनालाई जमुना आधारभूत विद्यालयमा राखिएको छ । वडा–१० शान्ति टोलका १२ घरमा बाढी पस्दा ४० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीले दोधारा चाँदनीकै सुन्दरनगर र कञ्जभोजस्थित सशस्त्र प्रहरीका बीओपीसमेत जलमग्न भएका छन् । सुन्दरनगर बीओपीका २३ जना सुरक्षाकर्मीलाई नजिकैको विद्यालयमा र कञ्जभोज बीओपीका ३० जनालाई खोप केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भीमदत्त नगरपालिका–११ भुजेलाका पाँच घरमा बाढी पसेको छ ।

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलस्तर सतर्कता तह नाघेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार डडेल्धुरास्थित पारिगाउँ मापन केन्द्रमा नदीको सतह ६, ८ मिटर नाघेको छ ।

महाकालीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज हुँदै हुने सवारी आवागमन रोक लगाएको छ । नदीमा पानीको बहाव १ लाख ९५ हजार ४ सय ५० क्युसेक पुगेपछि तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताउनु भएको छ । 

बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी प्रमुख खड्कबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको छ । अहिलेसम्म डेढ सयभन्दा बढी स्थानीय विस्थापित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै