+

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक

चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर शुरु भएको उहाँको सङ्घर्षले सफलताको शिखर चुमेको छ । 

अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ । यो सफलता त्यसै हात लागेको भने होइन । विसं २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिनुभएका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुनुहुन्छ । 

एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उहाँको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किनु भएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाउनुभयो । विसं २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उहाँ चितवन झर्नुभयो । उहाँका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्नुहुन्थ्यो । त्यही उद्योगमा उहाँले मासिक रु नौ सय पाउने गरी सहयोगीको जागिर पाउनुभयो । चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उहाँको हात मेसिनमा पुग्यो । दुईवटा औँला मेसिनले काट्यो । यो उहाँको जीवनको निकै सङ्घर्षको समय रह्यो । 

त्यसपछि उहाँ गाउँ फर्किनु भयो । केही महिनापछि फेरि चितवन झर्नुभयो । साइकलमा प्लास्टिक बेचेको उहाँले देख्नुभयो । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो । बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पु¥याएर बिक्री गर्ने काम उहाँले थाल्नुभयो । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उहाँ साइकलमै पुग्नुहुन्थ्यो । 

बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किनुहुन्थ्यो । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उहाँ साइकलमै खटिनुहुन्थयो । विसं २०४८ माघदेखि आफँैले काठमाडौँबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाल्नुभयो । यतिबेला उहाँले दैनिक  १२ हजार रुपैयाँ सम्मको प्लास्टिक बिक्री गर्नुहुन्थ्यो । यससँगै उहाँको जीवनयापन केही सहज बन्दै गयो । विसं २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा ३५ हजारमा चितवन प्लास्टिक ट्रेडर्स पसल किन्नुभयो । पसल किन्न मामाघरको हजुरबुबाले १० हजार दिनुभयो । यो रकम उहाँको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले । 

यतिबेला पनि उहाँ साइकलमा प्लास्टिक बिक्री गर्न छाड्नु भएको थिएन । विसं २०५३ मा उहाँले पसललाई बढाउँदै थोक बनाउनुभयो । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । उहाँले भन्नुभयो– ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु ।’ 

थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उहाँको स्मरण छ । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उहाँ अनुभव सुनाउनुहुन्छ । विसं २०५४ मा विवाह गरेपछि उहाँलाई काममा साथ मिल्यो । विसं २०५८ सालमा उहाँले १८ लाखमा लिलाचोकमा पुरानो घर किन्नुभयो । त्यही घरमा उहाँको पसल शुरु भयो । 

शुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाल्नुभयो । विसं २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उहाँ पुग्नुभयो । त्यहाँ देखेपछि उहाँ नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग शुरु गर्नुभयो । अर्को वर्षदेखि उहाँले चितवन पोलीपाइप उद्योग शुरु गर्नुभयो । ो उद्योगमा पाइपसँगै प्लास्टिकका झोला लगायत सामग्री पनि उत्पादन हुने गर्दछ । 

भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उहाँले किन्नुभएको थियो । त्यही जग्गामा उद्योग शुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोल्नुभयो भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग शुरु भयो । पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उहाँले यो उद्योग शुरु गर्नुभएको हो । चितवन राइनो ट्याङ्कीका रुपमा उहाँको उत्पादन बजारमा छ । 

दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उहाँले शुरु गर्नुभयो । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ । यसबीचमै उहाँले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गर्नुभयो । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उहाँका २५ वर्षे छोरा आकाशले हेर्दै आउनुभएको छ । 

उहाँसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै हुनुहुन्छ । परिवारले दिएको साथ उहाँको सफलताको अर्को पक्ष हो । उहाँले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उहाँ बताउनुहुन्छ । व्यावसायिक सफलतासँगै उहाँ सामाजिक क्षेत्रमा क्रियाशील हुन थाल्नुभएको छ । विसं २०७५ देखि २०७९ सम्म उहाँ प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष हुनुहुन्थ्यो भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गर्नुभयो । 

इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उहाँको भनाइ छ । कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उहाँँ भन्नुहुन्छ– ‘मैले जस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै