
काठमाडौँ । चट्याङ लागेर पछिल्लो २४ घण्टामै आठजनाको ज्यान गएको छ । मौसममा आएको फेरबदलसँगै बुधबार र बिहीबार बिहान परेको चट्याङले सुदूरपश्चिममा तीन, कोशी र लुम्बिनीमा दुई–दुई र मधेशमा एकजनाको मृत्यु भएको हो ।
सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिका– १, तल्लोकुटीकी बिरु सार्कीका नौमहिने छोरा दृष्टि, डोटीको सायल गाउँपालिका– ६ की ३३ वर्षीया कमला नागरी र बझाङको बित्थडचिर गाउँपालिका– ३ की ७८ वर्षीया धौली बोहराको मृत्यु भएको छ । उनीहरूको बुधबार राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिनुभएको छ ।
कोशीमा झापाको गौरादह नगरपालिका– ५ मा ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पाँचथर मिक्लाजुङ घर भई गौरादह बस्ने लावतीलाई बुधबार घरमै खाजा खाने क्रममा चट्याङ लागेको हो ।
मोरङको कानेपोखरी गाउँपालिका– १, होक्लाबारी मामाघर गएका सुनसरीको इटहरी उपमहानगरपालिकाका १२ वर्षीय आविष्कार बरालको पनि चट्याङमा परेर बुधबारै ज्यान गएको छ । घाइते अवस्थामा विराट टिचिङ अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो ।
त्यस्तै, लुम्बिनीमा अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका– १०, लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्ती र रोल्पाको सुनीलस्मृति गाउँपालिका– ५ की १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको छ । बिहीबार बिहान चट्याङ लागेर घाइते भएका यमबहादुरको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा दिउँसो ज्यान गएको र धनमायाको बुधबार राति नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जनार्दन जिसीले बताउनुभयो ।
मधेशमा धनुषाको नगराइन नगरपालिका– ८ की ६० वर्षीया बेचनदेवी पासवानको मृत्यु भएको छ । बुधबार बिहान घरनजिकै आँपको बगैँचामा गएकी उनको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङ लागेर दुई दिनमा देशभर ११ जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा देशका अधिकांश ठाउँमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी केही दिन पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । पछिल्लोे २४ घण्टामा देशभर हल्कादेखि मध्यमसम्मको वर्षा भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै