
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।
मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोक्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि दुवैजना बिना विभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने समय नजिकिँदा दुवै बिना विभागीयमन्त्रीलाई जिम्मेवारी तोक्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यको बुधबार टीकापुरमा बसेको बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका सवालमा पार्टीले निर्वाह गरिरहेको भूमिकालाई अहिले यथावत राख्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिनुभयो ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय सो पार्टीको संसदीय दलको बैठकले गरेको थियो । संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले प्रदेशमा शाह नेतृत्वको सरकारलाई नै समर्थन गर्ने विषयमा आफूहरु पछि नहट्ने बताउनुभयो ।
बहुमत जुटाउनका लागि स्वतन्त्र सदस्य डा तारा जोशी र राप्रपाकी खेमादेवी विष्टबाट सहयोग प्राप्त हुने मुख्यमन्त्री शाह बताउनुहुन्छ । प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँचजना मन्त्री भइसक्नुभएको छ ।
केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो । नागरिक उन्मुक्तिले भने सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । लगत्तै मुख्यमन्त्रीले सो पार्टीका थप चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा रिक्त प्रदेशसभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ ‘क’मा आगामी वैशाखमा निर्वाचन हुँदैछ । सरकारले विश्वासको मत प्राप्त गर्नका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा एमाले का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्रका एक एक सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल