+

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– नियत सफा राखेर काम गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको सचिवहरूको नियमित बैठकमा उहाँले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्रीले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो । ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन’ उहाँले भन्नुभयो ।

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्रीले त्यही अनुरूप अगाडि बढ्न निर्देशन दिनुभयो । ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्’ उहाँले भन्नुभयो– ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिन र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।’

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले व्यहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आइपुग्दा समेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्रीले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष होइन भन्नुभयो ।

सचिवको विदाइ
लामो समय राष्ट्र सेवामा संलग्न भइ सचिव पदबाट सेवा निवृत्त हुनुभएका कर्मचारीको आज विदाइ गरिएको छ । सिसहरबारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा सेवा निवृत्त हुनुभएका १२ जना सचिवलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको छ ।

सेवा निवृत्त हुने सचिवहरू यादवप्रसाद कोइराला, रामप्रसाद थपलिया, धनराज ज्ञवाली, गोपीकृष्ण खनाल, डा दामोदर रेग्मी, दिनेशकुमार घिमिरे, देवकुमारी गुरागाइँ र केवलप्रसाद भण्डारी रहनुभएको छ । 

त्यस अवसरमा प्रधानमन्त्रीले उच्च नेतृत्वसम्म रहेर हासिल गरेका अनुभव र विज्ञता राज्यले सदुपयोग गर्ने बताउनुभयो । सेवा निवृत्त सचिव गुरागाइँले आफूहरूले कुनै पनि दबाब र प्रभावमा नपरीकन निरन्तर राष्ट्रको सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूमा देशको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै