
लिस्बन (पोर्चुगल) । सर्वाधिक धनराशि पुरस्कार रहेको नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि ६० देशबाट २ सय ४० जना प्रतिभा छनोट भएका छन् ।
‘इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले नेपालसहित १२ भन्दा बढी मुलुकमा अडिसन लिई ती प्रतिभा छनोट गरेको हो । पहिलो चरणको अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि १ सय २० जना र मेरो डान्स युनिभर्सका लागि १२० जना प्रतियोगी छनोट गरेको फाउन्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
विश्वका विभिन्न मुलुकमा भएको स्थलगत अडिसनमा ७ हजारभन्दा बढी नेपाली मूलका नेपालीभाषी प्रतियोगी सहभागी भएको भट्टराईले बताउनुभयो । छनोट भएका प्रतियोगीहरुलाई फाउन्डेशनले आफ्नै खर्चमा काठमाडौँ ल्याई अर्को चरणको प्रतिस्पर्धाका लागि तयारी गराएको छ । छनोट भएका अधिकांशलाई काठमाडौँ ल्याइएको फाउन्डेशनले जनाएको छ ।
भट्टराईका अनुसार गायन र नृत्य गरी दुवैतर्फका शोका लागि अमेरिकामा भएको अडिसनबाट १० जना, क्यानडाबाट दुई, बेलायतबाट १०, पोर्चुगलबाट १०, भूटानबाट चार, थाइल्याण्डबाट १०, हङकङबाट १०, जापानबाट १०, अफ्रिकाबाट दुई, दुबईबाट १०, कतारबाट १०, अष्ट्रेलियाबाट १०, भारतबाट ६० र नेपालका विभिन्न शहरमा भएको अडिसनबाट ८२ जना प्रतिभा छनोट भएका छन् । नेपाल बाहिर रहेका नेपालीभाषीलाई नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको आयोजना गरिएको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ ।
‘यो नेपाली भाषा, कला र संस्कृतिको माध्यमबाट संसारभरका नेपालीलाई जोड्ने एउटा सांस्कृतिक अभियान हो’ उहाँले भन्नुभयो– ‘थाइल्याण्ड, मलेसिया, बर्मा, फिजी, भूटान लगायतका देशमा त्यहीँका नागरिक भई बसोबास गरेका नेपालीभाषीहरुले समेत अडिसनमा भाग लिई छनोट हुनुभएको छ, यसले हामीलाई अझै उत्साहित बनाएको छ । हाम्रो अभियानले विश्वका विभिन्न मुलुकमा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपालीभाषीहरुलाई आफ्ना पुर्खाको मातृभूमिसँग जोड्ने काम गरेको छ ।’ संसारभरका नेपाली भाषीलाई नेपालसँग जोड्ने र कलासंस्कृतिको जगेर्ना गर्ने परिकल्पनाका साथ यो शो आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो ।
‘नेपालीको परम्परा, रीतिथिति, भाषा, संस्कृति र नेपालीपन जोगाई राख्न सकियोस्, पुर्खाको जन्मभूमिसँग विदेशमा बस्ने नयाँ पुस्ताका नेपालीलाई जोड्न सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य होे’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
अमेरिकाबाट शुरु भएको स्थलगत अडिसन क्यानडा, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, अफ्रिका, अष्ट्रेलिया, दुबई, कतार, भूटान र भारतका विभिन्न शहरमा सम्पन्न भएको छ । त्यसैगरी, नेपालमा बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौँमा अडिसन सम्पन्न गरेको छ ।
पहिलो संस्करणमा विश्वका ५२ देशका नेपालीभाषीले सहभागिता जनाएकामा यसपटक ६० देशका नेपाली प्रतिभाहरुको सहभागिता रहेको फाउण्डेसनले जनाएको छ ।
दुवै शोका विजेताहरुले एक–एक करोड रुपैयाँ पुरस्कार पाउने छन् । उपविजेताले २५–२५ लाख तथा तृतीय स्थान प्राप्त गर्नेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ । यसबाहेक समूह नृत्यतर्फका प्रतिस्पर्धाका विजेता समूहले २० लाख, उपविजेता समूहले १० लाख र तृतीय समूहले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । छनोट चरणको उत्कृष्ट दशसम्म पुग्न सफल प्रतिभालाई तीन–तीन लाखले पुरस्कृत गरिने जनाइएको छ ।
मेरो भ्वाइस युनिभर्सका लागि काठमाडौँमा सम्पन्न छनोट चरणमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनुभएको छ । मेरो डान्स युनिभर्सको निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शङ्कर बिसी, कविराज गहतराज र किरण थापालगायत रहने आयोजक संस्थाले जनाएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोको अर्को चरणको प्रतिस्पर्धा र प्रतिभा छनोट प्रक्रिया यसै साताबाट शुरु भएको छ । यअघि फाउण्डेसनले सन् २०२३ मा दुवै रियालिटी शोको पहिलो संस्करण सम्पन्न गरेको थियो ।
पहिलो संस्करणको ‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रीतम राई विजेता हुनुभएको थियो भने ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्याण्डकी खुशी कार्कीले जित्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन