+

आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरु

मोरङ । मोरङको  विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरु भएको छ ।

प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजकका तर्फबाट साङ्ग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन् ।

पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले  पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो । 

प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको बताइएको छ । विराटनगर महानगरपालिकाबाट  १२ लाख र राष्ट्रिय खेलकुद परिषदबाट पाँच लाख रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार दुई सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम ५० लाख रुपैयाँ उठ्ने ट्रष्टको दाबी छ । आजबाट शुरु हुने रात्रिकालीन विराट गोल्डकप चैत २४ गते समापन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै