
काठमाडौँ । सद्भावनाको फागु पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा फागु खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको फागुमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले फागु खेल्न पर्यटक उत्साहित हुने गरेका बताउनुहुन्छ । “हरेक वर्ष विदेशीलाई फागु खेलाउन वसन्तपुर जाने गरेको छु”, उहाँ भन्नुहुन्छ, “यो पर्व मन नपराउने कमै छन् ।”
फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ”, उहाँ भन्नुहुन्छ, “काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।”
हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर फागु पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा फागु पर्व मनाइने गरिएको मानिन्छ ।
नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले फागु पर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउनुभयो । “फागु खेल्दा न जात हेरिन्छ, न धनी–गरिब”, उहाँ भन्नुहुन्छ, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।”
फागु पर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाउनुभयो । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै