
काठमाडौँ । शिक्षालाई समाजवाद उन्मुख बनाउन विभिन्न राजनीति दलका नेता, सांसद, विज्ञ र सरोकारवालाले आग्रह गरेका छन् । उनीहरुले संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख अवधारणाका आधारमा विद्यालय शिक्षा विधेयक, २०८० लाई परिमार्जित गर्न जोड दिएका हुन् ।
शिक्षा पत्रकार समाज र शिक्षा नीति तथा अभ्यास केन्द्रद्वारा आइतबार आयोजित समाजवादोन्मुख दृष्टिकोणका आधारमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विधेयकबारे संसदभित्र र बाहिर देखिएको चासो तथा चिन्तालाई आफूहरुले सकारात्मकरुपमा लिएको जनाउँदै संविधानको मौलिक हकमा रहेको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनको ढाँचा निर्माण गर्नुपर्ने बताउनुभयो ।
सभापति जोशीले संविधानको मौलिक हक, साझा अधिकारका सूची र व्यावहारिक रुपमा मिल्ने गरी विधेयक बन्नुपर्नेमा आफूहरु तत्पर रहेको जनाउनुभयो । समितिमा विचाराधीन त्यो विधेयकमाथि आजैदेखि समितिमा संशोधनकर्ता सांसदसँगको छलफल प्रारम्भ भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले बलिदान र सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाबाट पछाडि फर्कन नसकिने भएकाले समृद्धि, सुशासन, सामाजिक न्याय, देशप्रेमको भावना र मौलिक अधिकारका आधारमा शिक्षाका नीति तथा कानुन बन्नुपर्नेमा आफूहरु सजक रहेको बताउनुभयो । विद्यालय शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने जनाउँदै उहाँले विद्यालय समायोजन र सिकाइमा गुणस्तर सुधारका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षा र स्वास्थ्यमा राज्यको सर्वसुलभता कायम गर्न नसकिए समाजवादोन्मुख संविधानको पालना हुन नसक्नेमा जोड दिँदै निजी विद्यालयमा महँगो शुल्क लिइने र राम्रा सामुदायिक विद्यालयमा पनि अभिभावकसँग शुल्कको लिइने स्थितिको खाडल अन्त्य गराउन विधेयकले भूमिका खेल्नुपर्ने बताउनुभयो । एमालेका सांसद दीपा शर्माले संविधानको प्रस्तावना र मौलिक हकका विषय शिक्षालगायत सबै विधेयकमा प्रतिविम्बन हुनुपर्ने जनाउँदै निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन चुनौतीपूर्ण भएका बेला सरकारले स्पष्ट खाका ल्याउनुपर्ने माग गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले संविधानले साझेदारीको अवधारणालाई प्रश्रय दिएको जनाउँदै हाल भएका सामुदायिक विद्यालयमा पूर्वाधारमा बढी लगानी भए पनि विद्यार्थी न्यून हुँदै जानुले लगानीको पुनःवितरणको ढाँचामा जान आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षाविद् डा बालचन्द्र लुइँटेलले अधिकांश ठूला राजनीतिक दलका विचार र दर्शनले संविधानमा रहेको समाजवादोन्मुख परिकल्पनालाई आत्मसात् गरे पनि व्यवहारमा शिक्षामा समानता कायम हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले उक्त विधेयक कर्मचारीतन्त्रका आधामा बनेको र शिक्षक समुदायलाई राजनीतिक दलको कार्यकर्ताबाट बाहिर राख्न नसकेको बताउनुभयो । शिक्षाविद् डा अमिना सिंहले प्रजातन्त्रका लागि शिक्षा बलियो आधार भएकाले नवउदारवाद र बजारीकरणले शिक्षा क्षेत्रलाई गाँजेको स्थितिमा त्यसबाट मुक्त रहेर विधेयक बन्नुपर्ने औँल्याउनुभयो । शिक्षा विश्लेषक टीका भट्टराईले निजी विद्यालय बन्द गरेर मात्रै सामुदायिक विद्यालय सुध्रने नभई विद्यालय सेवा क्षेत्रको अवधारणालाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
नेपाल शिक्षक महासङ्घका पूर्वअध्यक्ष बाबुराम थापाले समृद्धि, सुशासन र समानता नभएसम्म समाजवाद नआउने भएको बताउँदै विद्यालयको समग्र व्यवस्थापनका लागि स्थानीय तह कति सक्षम छन् भन्ने सोच्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मुक्तानले अभिभावकको भूमिकालाई निष्क्रिय तुल्याएर शिक्षाको गुणस्तर सुधार असम्भव भएको बताउनुभयो ।
अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष मदन भुलले पैसा हुनेले राम्रो शिक्षा र नहुनेले शिक्षा नै नपाउने स्थिति अन्त्य हुनुपर्ने माग गर्नुभयो । कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव हंशबहादुर शाही, विद्यालय कर्मचारी परिषद्का सदस्य रामशरण फुयाँल लगायतले नेपाल सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सम्झौताको कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग