+

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

सुर्खेत । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ योजना कार्यान्वनमा समस्या देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्बन्धित योजना कार्यान्वनमा समस्या भएको हो । 

रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल एमालेसँगको सहमतिअनुसार बजेट थप गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले सदनमा सहमति भएका टुक्रे योजनालाई  १५ लाख रुपैयाँसम्म पुर्याउने र सडक तथा भवनतर्फका योजनालाई ३० लाख पु-याई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय भएको तीन महिना बित्दा समेत सम्बन्धित योजनाका बारेमा विषयगत मन्त्रालयले काम गर्न सकेको छैन । 

जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले जिल्ला कार्यालयलाई धेरै पहिला नै योजनाका बारेमा निर्णय गरेर ल्याउनु भने पनि अझैसम्म जिल्ला कार्यालयले निर्णय गरेर प्रदेश मन्त्रालयमा नबुझाउँदा समस्या भएको बताउनुभयो । योजना थपघट गर्दा जिल्लास्थित कार्यालयको पनि सहमति चाहिने गर्दछ । पाँच सय ७४ वटा योजनामा ६४ करोड रुपैयाँ विनियोजन भएको छ । 

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा मात्रै यस्तै प्रकृतिका  १६ करोड बराबरको ९२  योजना छन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयमा ४८ करोड बराबरका चार सय ८२ वटा योजना छन् । सिँचाइतर्फ १५ लाखभन्दा कम बजेटका र सडक तथा भवनतर्फ ३० लाखभन्दा कम बजेटका यी योजनालाई पूर्वसहमतिअनुसार परिमार्जन गरी अघि बढाउनुपर्ने हो ।

पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद वेदराज सिंहले पुस २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थले १५ लाखभन्दा कम बजेटका योजनालाई १५ लाख पु¥याउने र ३० लाख कम बजेटका सडक तथा भवनका योजनामा ३० लाख पुर्याई कार्यान्वयन गर्न मन्त्रालयलाई पत्राचार गरेको बताउनुभयो । 

भौतिक र जलस्रोतले ती योजनामा काट्नुपर्ने योजना काटेर आवश्यक योजनामा बजेट थप गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बजेटको अख्तियारी दिएपछि सोही अनुसार मन्त्रालयले कार्यान्वयन गर्नुपर्नेमा अर्थ मन्त्रालयमा मन्त्री नियुक्त नभएको र मन्त्रालयले योजनाको ठोस विवरण सङ्कलन गर्न सकेका छैनन् ।

जलस्रोतको तुलनामा भौतिक पूर्वाधारमा थोरै योजना छन् तर  मन्त्रालयले अहिलेसम्म योजना संशोधन गर्न सकेको छैन ।  मन्त्रालयका प्रवक्ता, वरिष्ठ सिडिई रमेश सुवेदीले अहिलेसम्म कुनै ठोस विवरण तयार नभएको बताउनुभयो । ‘यो विषय जस्ताको त्यस्तै छ’ उहाँले भन्नुभयो– ‘योजना कम्पाइल गरेर जिल्लाबाट अहिलेसम्म आएको छैन । मन्त्रालयमा सबैको विवरण फाइल बनाउने काम भएको छैन ।’

शुक्रबारको प्रदेशसभा बैठकमा पूर्वअर्थमन्त्री सिंहले पूर्वसहमतिअनुसार कार्यान्वयन नभए भोलिका दिनमा सदनमा उत्पन्न हुने समस्याको भागिदार सरकार स्वयं हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै