+

नेपाल-बंगलादेश विद्युत सम्झौता केही दिनमा हुने

काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता छिट्टै हुने भएको छ । 

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले ४० मेगावाट विद्युतका लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने प्रतिवद्धता जनाउनुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँगको भेटवार्तामा राजदूत चौधरी यस्तो प्रतिवद्धता जाहेर गर्नुभएको हो । 

राजदूत चौधरीले उपराष्ट्रपतिलाई बिहीबार दिउँसो उहाँको कार्यालय पुगेर भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत् लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार  भेटवार्तामा उपराष्ट्रपतिले  दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुशी व्यक्त गर्दै व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ । ‘तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु’ उपराष्ट्रपतिलाई उदृत गर्दै सचिवालयले भनेको छ– ‘‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ ।’

सचिवालयका अनुसार उपराष्ट्रपतिले नेपालको जलविद्युत् क्षमता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताउनु भएको छ । ‘सन् २०१८ मा नेपाल र बङ्गलादेशबीच विद्युत्  सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हो’ उहाँलाई उदृत गर्दै भेटवार्ताबारे सचिवालयले उल्लेख गरेको छ– ‘बङ्गलादेश सरकारले हालै भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकामा हामी खुशी छौँ ।’ 

उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बङ्गलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बङ्गलादेशको प्रस्ताव उत्साहजनक रहेको  बताउनुभएको छ । ‘म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बङ्गलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ’ उपराष्टपतिले सचिवालयमार्फत भन्नुभएको छ – ‘नेपाल र बङ्गलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने लोकप्रिय धेरै पर्यटकीय गन्तव्य छन् । बङ्गलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।’

‘म हाम्रा दुई देशबीच सांस्कृतिक सहयोग र  जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु ” नेपाल र बङ्गलादेशबीच घनिष्ट सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपतिले उल्लेख गर्नुभएको छ – ‘ सन् १९७६ अप्रिलमा हाम्रा दुई देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति (१९ एमबीबीएस र ३ बीडीएस) उपलब्ध गराएकोमा म बङ्गलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

उपराष्ट्रपतिले नेपाल र बङ्गलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन, जी ७७ र चीनलगायत क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । ‘हाम्रा दुई देशले संयुक्त राष्ट्रसङ्घ र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु’ उहाँले उल्लेख गर्नुभएको छ – ‘एक मित्रराष्ट्रका नाताले नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ । आगामी दिनमा हाम्रा दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।’

राजदूत चौधरीले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत क्षेत्रमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेका बताउनुभयो । बङ्गलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्रलगायत विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हरेक वर्ष छात्रवृत्तिसँंगै आफ्नै खर्चमा  पाँच सय देखि छ सय विद्यार्थी बङ्गलादेशमा एमबीबीएस गर्न जान्छन् । 

हाल बङ्गलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन्, ”राजदूत चौधरीले हाल नेपाल र बङ्गलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुनेगरेको जनाउँदै ४० मेगावाट विद्युत्का लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै