+

निर्माण थालेको १० वर्षपछि ठिमुरा–देवघाट पुल सञ्चालनमा

चितवन । भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणका क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेको लगायत कारण काममा ढिलाइ भएको थियो । निर्माण कार्य शुरु  हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको पनि उहाँले बताउनुभयो । निर्माण शुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो रहेको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘एक सय २० मिटर ढलान गरिएको छ । अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ ।’

भरतपुर महानगरपालिका–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणको कार्य विसं २०७१ को कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक र दोस्रो पटक २०७९ वैशाखमा भत्किएको थियो । 

पुल निर्माणका लागि शुरुमा  १९ करोड १० लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ आदि कारण काममा ढिलाइ भएको जानकारी दिनुभएको छ। 

पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट