
म्याग्दी । उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लाग्नुभएका उहाँ पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरूको संरक्षणमा जुट्नुभएको हो । उमेरले बुढ्यौली लाग्दै गए पनि आफू भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताउनुभयो ।
विसं २०७२ मा मगर समुदायको मौलिक भाकाका रूपमा रहेको पुख्र्यौली गीतको म्युजिक भिडियो तयार गर्नुभएका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्युजिक भिडियो नै तयार गरिसक्नुभएको छ । पुख्र्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफैँ मादले बनेर नाच्ने गर्नुहुन्छ ।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जङ्गल जाँदा, खेतबारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवरलगायतका परम्पराजन्य कार्यक्रममा गुञ्जिने मौलिक भाका हराउन थालेपछि आफू संरक्षणमा जुटेको उहाँको भनाइ छ ।
“मेरो अधिकांश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकामा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफैँ पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायाङ्कन गरेर म्युजिक भिडियोसहित बाहिर ल्याउने गरेको छु”, सर्जकसमेत रहनुभएका कलाकार पुनले भन्नुभयो ।
पुनले तयार गर्नुभएको पुख्र्यौली गीत हालै जिल्लाको अन्नपूर्ण –८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल करबाकेलीमा म्युजिक भिडियो छायाङ्कन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमयालगायतका विभिन्न छवटा गीतमा आफैँ स्वरसमेत दिनुभएको छ ।
गाउँका परम्परागत मौलिक भाकाका गीत सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरूको सङ्कलन र गीत लेखन सुरु गर्नुभएको थियो । “गाउँमा बुवाआमाले गाउने भाका कहीँकतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे भाकाहरू पुस्तान्तरण हुन पाउँछन्, मैले सिर्जना गरेका सबै गीतको लय र ताल पुराना र मौलिक छन्, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु”, पुनले भन्नुभयो ।
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफूले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उहाँको भनाइ छ । पुनका चारवटा सालैजो, पुख्र्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ । म्याग्दीका विभिन्न गाउँबस्तीमा गाइने रेलिमै, सेदोलगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गर्नुभएको छ । उहाँले मगरहरूको पुख्र्यौली गीतिसङ्ग्रह पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । यस पुस्तकमा पुख्र्यौली नाचका विभिन्न ५९ गीत समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ