
बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ । आज यहाँ आउनुभएका राष्ट्रपतिले करिब दुई करोड रुपैयाँ लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गर्नुभएको हो ।
पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो । पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ भइरहेको छ ।
फागुन ९ देखि शुरु भएको महायज्ञमा राष्ट्रपति सहभागी हुनुभएको छ । करिब आधाघण्टा पञ्चकोटमा रहनुभएका पौडेलले यहाँ बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गर्नुभएको थियो । दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो । महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताउनुभयो । जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन महाघण्टको स्थापना गरिएको उहाँले जानकारी दिनुभएको हो ।
महाघण्टलाई दुई साता अगाडि पञ्चकोटमा ल्याइए पनि आजमात्रै विधिपूर्वक स्थापना गरिएको उहाँ बताउनुहुन्छ । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । पञ्चकोटमा अहिलेसम्म सिसमहल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्ति लगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापीरूपमा चर्चित बनेको छ ।
पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्टबाट निस्किएको ध्वनि साविक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ । महाघण्ट बनाउन करिब दुई करोड रुपैयाँ खर्च लागेको अनुमान गरिएको छ ।
समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअघि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ ।
बुधबारदेखि थालिएको महायज्ञमा देशका विभिन्न जिल्ला तथा भारतबाट समेत साधुसन्त र भक्तजन आइरहेका छन् । स्वार्मी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक हुन लागेको ब्रह्माण्डीय महायज्ञ २३ फागुनसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग