
बागलुङ । सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र छ। ७ वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन नसकेको हो।
खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । २०७४ साल माघ महिनामा सक्ने गरी निर्माण थालिएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला लथालिङ्ग अवस्थामा पुगेको हो ।
पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो । ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ । सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि अब कहिले काम सुरु हुन्छ भन्ने निश्चित छैन । सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमै भएको सीमित छ । वर्षौँअघि निर्माण भएको पुलको संरचना भूजीखोलामा आएको बाढीले भत्काइदिएको छ । बाढीले लाखौँको संरचनामा क्षति पु¥याएपछि पुल सुरुकै चरणबाट काम गर्नुपर्ने अवस्थामा छ । पुल बन्न लागेपछि खुसी भएका अधिकारीचौर, नाथुरी लगायतका गाउँका नागरिक अहिले अलपत्र अवस्थामा पुगेपछि दुःखी बनेका छन् ।
कृषि गाउँका रुपमा रहेका अधिकारीचौर र नाथुरीगाउँका हजारौँ किसान पुल नबन्दा मारमा परेका छन् । डेढ दशकअघि गाउँमा मोटरबाटो पुगेपछि सिङ्गो गाउँनै व्यावसायिक तरकारी खेतीमा लागेको छ । यतिका समयसम्म मोटर गुड्ने पुल नबन्दा यस क्षेत्रका तीन सय घरधुरीका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या भएको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका किसान कृष्ण कँडेलले बताउनुभयो ।
भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाई छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्षाको समयमा भने ठप्प हुने गरेको कँडेल बताउनुहुन्छ ।
हिउँदमा गाउँमै गाडी आएर उत्पादित तरकारी बजारमा पु¥याउन सहज भए पनि बर्षा याममा सकस हुने उहाँको भनाई छ । कँडेलले भन्नुभयो– ‘हामी किसानका लागि गाउँमा मोटरबाटो बरदान सावित भएको छ, यहाँका सयौँ मानिस तरकारी खेतीमा आवद्ध छौँ, हिउँदमा गाडी बारीमै आउँछ, बर्षाको चार महिना त ठप्पै हुन्छ, त्यो बेला डोकोमा बोकेर बजार पुर्याउनुपर्छ, डोकोमा बोकेर बजार पुर्याउँदा निकै गाह्रो हुन्छ, पुल बन्न लागेको दश वर्षनै हुन लाग्यो, अहिले त काम गर्ने मान्छे पनि आउँदैन, भागे छ कि क्या हो ? खोलाले पनि केही भागमा क्षति गरेको छ ।’
नाथुरी गाउँका स्थानीयवासी शिवराज कँडेलले अस्तुमा पुल बने आधा १५ मै बुर्तिबाङ बजारमा पुग्न सकिने भए पनि अहिले एक घण्टा बढी लाग्ने बताउनुभयो । पुल नबन्दा वर्षा शुरु भएदेखि कात्तिकसम्म गाउँमा मोटर पुग्न नसक्ने उहाँको भनाई छ । गाउँमा कोही बिरामी परेर अस्पताल लैजानु परे डोकोमा बोक्नुपर्ने स्थिति रहेको कँडेलले बताउनुभयो । पटक–पटक सरोकारवाला निकायमा माग गरी राखे पनि अहिलेसम्म सुनुवाइ नभएको उहाँले गुनासो पोख्नुभयो ।
‘हिउँदको समयमा समस्या छैन, घुमाउरो बाटो भएर पनि गाउँमा गाडी पुग्छन्, सबैभन्दा बढी समस्या त वर्षामै हुन्छ, पुल अलपत्र पार्ने ठेकेदारलाई कडा कारबाही गर्नुपथ्र्यो, अहिले पुल सकिने बेला ठेक्का रद्ध गरे, अब कहिले पुनः ठेक्का गरेर काम सुरु हुने हो ? कस्तो ठेकेदार पर्ने हो ?’उहाँले भन्नुभयो – ‘यही चालले त अवको दश वर्ष पनि पुल बन्ला जस्तो लाग्दैन, राज्यले कडाइ ग¥यो र चासो दियो भने समयमै काम बन्ने थियो होला ।’
पुल सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड ५० लाखको लागतमा निर्माण हुन थालेको थियो । निर्माण कम्पनीले काम गर्न अटेरी गरेपछि गत वर्ष ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनीयर अमर अधिकारीले जानकारी दिनुभयो । निर्माण कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको उहाँको भनाई छ । त्यो कम्पनीले ४० प्रतिशत मात्रै काम गरेको छ । त्यसमा पनि बाढीले ठूलो क्षति पु¥याएको उहाँ बताउनुहुन्छ । अब पुलको काम सुरु गर्नका लागि नयाँ डिजाइन गर्नुपर्ने भन्दै त्यसका लागि परामर्शदाता कम्पनी आह्वान गरेको सूचना अधिकारी अधिकारीको भनाई छ ।
परामर्शदाता कम्पनीले नयाँ प्रतिवेदन तयार पारेपछि नयाँ ठेक्का प्रक्रियामा जाने उहाँले बताउनुभयो । ‘जति छिटो परामर्शदाताले प्रतिवेदन तयार गर्छ, त्यति छिटो ठेक्का प्रक्रिया अगाडि बढ्छ, पहिले केही काम भए पनि खोलाले क्षति पुर्याएको छ, त्यो पुल धेरै वर्ष अगाडिनै सकिनुपर्ने हो तर निर्माण कम्पनीले निकै लापरबाही गर्र्यो’ इञ्जिनियर अधिकारीले भन्नुभयो– ‘दोहोरो काम गर्न पर्ने भयो, पहिले सकिएको भए, राज्यको लाखौँ रकम नोक्सान हुने थिएन, नागरिकले सहज रुपमा यात्रा गर्न पाउँथे, अब काम गर्नका लागि अझै केही समय लाग्ने देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग