
ललितपुर । ललितपुर महानगरपालिका कार्यालय छेउमै २०११ सालमा स्थापना भएको मदन स्मारक माध्यामिक विद्यालय छ। जगदम्बा कुमारीदेवीले आफ्ना श्रीमान् मदन शमशेरको सम्झनामा स्थापना गर्नुभएको त्यो विद्यालयको नाममा २७ रोपनी जमिन भए पनि अहिलेसम्म सोचेजस्तो स्तरोन्नति गर्न सकिएको छैन ।
विद्यालय स्थापना हुँदा निर्माण भएको २४ काठे राणकालीन भवन हाल जीर्ण छ । २०७२ सालको भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पुर्याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ ।
भूकम्पले क्षति पुर्याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरमा पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त ५० हजार रुपैयाँले भवन निर्माण पुनः निर्माण गरिएको थियो ।
हालसम्म सरकारले विद्यालयको स्तरोन्नतिका लागि खासै चासो देखाएको छैन ।‘भूकम्पले क्षति पुर्याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । विसं २०११ सालदेखियता छाना फेरिएको छैन । वर्षा शुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ । भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुरसार छैन’ उहाँले भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक पौडेल भन्नुहुन्छ– ‘यदि सरकारले विद्यालयको भौतिक संरचनासहित स्तरोन्नतिमा चासो देखाएमा यस विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउन सकिन्छ । विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिन्छ ।’
हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६ सय विद्यार्थी छन् । कक्षा ६ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो छैन ।
बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘सरकारी स्कुलको शिक्षा राम्रो भए पनि गलत प्रचार गरिएको छ । सेवा सुविधाको हिसाबले निजी स्कुलभन्दा सरकारी स्कुल धेरै माथि छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति