
पोखरा । पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ ।
साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको ७० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको पार्क सोमबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
पार्कमा संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्र, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित एक सय ९७ झण्डा राखिएका छन् । प्रत्येक देशको झण्डामुनि ती देशले संयुक्त राष्ट्र सङ्घमा सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ । पार्कको बीचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ ।
महानगर प्रमुख धनराज आचार्यले पार्क उद्घाटन गर्दै यसले पोखराको नयाँ पर्यटकीय गन्तव्य बढाउने बताउनुभयो । विश्वका सबै देशका झण्डा एकै ठाउँमा राख्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘पोखरामा संसारभरका पर्यटक आउँछन् । यहाँ आएर आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व महशुस हुन्छ । यसले पोखराको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्नेछ ।’
झण्डा पार्क सामाजिक विषयका विद्यार्थीका लागि समेत अध्ययन अवलोकनको गन्तव्य बन्न सक्ने भएको छ । महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयलाई एक दिन पार्कमा विद्यार्थीलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ । सेती नदीको दृश्यावलोकनसहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाइँ अवधि बढाउन समेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ ।
लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउँदै यस महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । पोखरा आफैँ सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको उहाँको भनाई छ । ‘यो पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसङ्घको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ’ अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले भन्नुभयो ।
महानगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटक बजार क्षेत्रमा रहेको महेन्द्रपुलमा पनि आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो । महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँबायाँ रहेका पुराना भवन भत्काएर पार्कका साथै सार्वजनिक शौचालय समेत निर्माण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग