
कञ्चनपुर । लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्ती लगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ । संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तल लगायतका वन्यजन्तुको ओहरदोहर गर्ने मार्गका रुपमा परिचित रहेको छ । मानव–जीवजन्तुबीच द्वन्द्व बढ्दैछ ।
भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन । निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने पुरानो जैविक मार्ग मासिँदा जङ्गली जनावरले प्रतिवर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएका छन् । जैविक मार्गको कनेक्टभिटी टुटेपछि जङ्गली जनावर बस्ती छिर्ने गरेका हुन् । पुनर्वास नगरपालिकाको डोकेबजार, नौरङ्गा, दोदा नदीको आसपासको क्षेत्रमा जङ्गली जनावरले ओहरदोहर गर्दै आएका छन् ।
जैविक मार्गको अवरोध हटाउनका लागि पटक–पटक बहस र छलफल हुने गरेपनि सार्थकतामा परिणत नहुँदा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जान थालेको डिभीजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिनुभयो ।
‘हात्ती हिँडडुल गर्ने वन क्षेत्र कम हुन थालेपछि मानव बस्तीमा पसेको छ, बालीनाली खान थालेको छ’ उहाँले भन्नुभयो– ‘अहिले मानवबस्ती बसेको ठाउँ हात्तीको पुरानो जैविक मार्ग हो, त्यो टुक्रिएको छ ।’ उहाँका अनुसार दूधुवा हुँदै हात्तीको बथानले संरक्षित वन क्षेत्र, निकुञ्ज हुँदै चुरे क्षेत्र पुग्ने गर्दछन् ।
‘यो हात्तीको पूर्खौंदेखिको हिँड्ने मार्ग भएकाले पछिल्लो पुस्ताले पनि अर्को बाटो हिँड्दैन’ अधिकृत कँडेलले भन्नुभयो– ‘पूर्खाले हिँड्ने बाटोनै अतिक्रमण गरी हाल मानवीय संरचना निर्माण भएपछि हात्तीले विध्वंश निम्त्याउने गर्दछ ।’ हात्ती मात्रै नभएर हाल भारत नेपालका वनमा बाघ, चितुवा, चित्तल लगायतका जनावरले पनि ओहरदोहर गर्दै आएका छन ।
दिउँसै चितुवा लगायतका जनावर देखिने गरेको उहाँले सुनाउनुभयो । नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय महत्वको जैविक मार्गका रुपमा रहेको उहाँले बताउनुभयो । ‘अन्तर्राष्ट्रिय महत्वको क्षेत्र भएकाले संरक्षणको क्षेत्रमा विदेशी दातृ संस्थाको चासो पछिल्लो समय बढ्दै गएको छ’ उहाँले भन्नुभयो, ‘यसको महत्वबारे स्थानीय बासिन्दालाई बताएर जागरुक गराउन जरुरी छ, त्यसलाई आत्मसात गरी अगाडि बढाउँदैछौँ ।’ वन क्षेत्रमा अतिक्रमणको समस्या पुरानै रहेको चर्चा गर्नुहुँदै उहाँले नयाँ अतिक्रमण हुन नदिइने र कानुन अनुसार अतिक्रमण हटाउने कार्य हुँदै आएको बताउनुभयो ।
‘जैविक मार्ग भएर ओहरदोहर गर्ने जीवजन्तु संरक्षणका लागि जनचेतनाका माध्यमबाट स्थानीय बासिन्दामा जागरण पैदा गर्नुपर्ने अवस्था आएको छ’ उहाँले भन्नुभयो– ‘जीवजन्तुले बालीनालीमा क्षति पुर्याए वा मानवीय क्षति पुर्याए क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’ पछिल्लो समय जीवजन्तुले क्षति पुर्याएमा राहत निर्देशिका बमोजिम क्षतिपूर्ति दिने गरिएको उहाँले जानकारी दिनुभयो । जनचेतनाको पाटोलाई बलियो बनाउन धेरै काम गर्न बाँकी छ ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी वन अतिक्रमण हुँदैन जानु, खुला चरिचरन र वन क्षेत्र वरपरका बासिन्दाको आयआर्जनका अवसरमा कमी हुँदा वन संरक्षणको क्षेत्रमा चुनौती थपिँदै गएको बताउनुभयो । वर्षेनी हुने भू–क्षय, आगलागीका घटनाले वनको जैविक विविधतामा खलल पर्न थालेको उहाँको भनाई छ ।
‘लालझाडी मोहना संरक्षित वन क्षेत्र वन्यजन्तुको बासस्थानका रुपमा विकसित मात्रै नभएर यस क्षेत्रले जैविक विविधता सांस्कृतिक विशेषता पनि बोकेको छ’ उहाँले भन्नुभयो– ‘वन क्षेत्र नजिक बसोवास गर्ने बासिन्दाको हित पनि सोचिनु जरुरी छ ।’
वन क्षेत्र संरक्षण भएर नै वन्यजन्तुको ओहोरदोहोर केही वर्षयता निकै बढेको उहाँले बताउनुभयो । जलाधार क्षेत्रका रुपमा रहेका तालतलैया, सीमसार क्षेत्रको संरक्षणमा सामुदायिक वन, दातृ निकाय र अन्य सरोकारवाला पक्षको चासो बढ्दै गएपछि जीवजन्तु संरक्षणमा टेवा पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार संरक्षित वन क्षेत्रको ८७ प्रतिशत भू भाग तराई र भावरमा पर्दछ भने १३ प्रतिशत भू भाग चुरे क्षेत्रमा पर्दछ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्र जीवजन्तुको जैविक मार्गसँगै प्राकृतिक ताल तलैयाले भरिपूर्ण रहेको छ । आवादीसहित यसको क्षेत्रफल ३७ हजार २९ दशमलव ५४ हेक्टर रहेको छ । वन क्षेत्र मात्रै २९ हजार छ सय ४१ दशमवल ७५ हेक्टर रहेको छ ।
‘संरक्षण क्षेत्रभित्रका तालतलैया उचित व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ’ संरक्षणकर्मी पुनाराम चौधरीले भन्नुभयो– ‘सीमसार क्षेत्रको व्यवस्थापनमा पनि ध्यान जानु पर्दछ ।’ वन अतिक्रमणका कारण जैविक मार्गमा जोखिम बढेकाले अतिक्रमण हटाउन पहल गरिनु आवश्यक रहेको उहाँको सुझाव छ । वन क्षेत्र नजिक बस्ने बासिन्दाको वन माथिको निर्भरता कम गरी नवीकरणीय ऊर्जातर्फ डोर्याउनुपर्ने जय लक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा