
काठमाडौँ । निजी गुठीमा नेपालकै धनी मन्दिरमध्येमा पर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा गुठीको आयस्ता भने आउँदैन । मन्दिरका नाममा काठमाडौँको बत्तीसपुतली, हाँडीगाउँ, साँखु र नाङ्लेभारे लगायत विभिन्न स्थानमा ३ सय ७३ रोपनी जग्गा छ ।
यसमध्ये वर्षमा करिब ७० रोपनी जग्गाको मात्र तिरो उठ्ने गरेको श्रीरामचन्द्र निजी गुठीका सचिव केशवध्वज राणाले जानकारी दिनुभयो । वार्षिक करिब ५० जनाजति मोहीमात्र जग्गाको कुत बुझाउन गुठीमा आउने गरेका छन् । गुठी संस्थानले तोकेको दरअनुसार नै निजी गुठीले कुत लिने गरेको सचिव राणाले बताउनुभयो । धेरै मोही कुत तिर्न नआउँदा मन्दिरको व्यवस्थापनमा समस्या हुने गरेको छ ।
निजी गुठीले श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिलाई केही वर्षदेखि रामनवमीको अवसर पारेर वार्षिक १ लाख ५० हजार रुपैयाँ मात्र दिने गरेको छ । मन्दिरमा नित्य एवं नैमित्तिक पूजाआजा, मर्मतसम्भार, सरसफाइ लगायत काम समितिले नै गर्दै आएको छ ।
१९२८ सालमा मन्दिर स्थापना गर्नुहुने कम्यान्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले राख्नुभएको दानपत्रको व्यहोरामा नित्य, नैमित्तिक पूजा गरी बिग्रे, भत्केको मर्मत गर्न जग्गा राखिएको उल्लेख छ । दानपत्रमा टन्डन परिवारको एकोद्दिष्ट र पार्वण श्राद्ध गर्न पनि जग्गाको आयस्ता उपयोग गरिने उल्लेख छ । यसको संरक्षणका लागि टन्डनले आफ्नो शेषपछि छोरीपट्टिका नाति महेन्द्रध्वज राणालाई अख्तियारी दिएको दानपत्रमा उल्लेख छ ।
आयस्ता नउठ्दा २०४८ साल अघि मन्दिर जीर्ण बनेको थियो । स्थानीयवासीको सक्रियतामा श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समिति गठन गरी अहिलेको स्वरुप दिइएको सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो । अहिले यो मन्दिर नेपालकै स्वच्छ, सफा र आकर्षक मन्दिरका रुपमा स्थापित भएको छ । जीर्ण मन्दिरलाई उद्धार गर्न गुठीको आयस्ता उपयोग हुन सकेन । व्यक्ति, व्यक्तिबाट चन्दादान सङ्कलन गरी मन्दिर जीर्णोद्धार गरिएको उहाँले सुनाउनुभयो । दाताबाट लिएर गरिएको खर्चको प्रत्येक वर्षको हिसाबकिताब राखिएको समितिले जनाएको छ ।
समितिले जीर्णोद्धार गरेर मन्दिरलाई आकर्षकरुपमा स्थापित गरेपछि यहाँ भक्तजनको आकर्षण बढेको थियो । विवाह, व्रतबन्ध, लाखबत्तीलगायत धार्मिक कर्म गर्न आउनेबाट समितिले शुल्क लिएर मन्दिर व्यवस्थापन र पूजाआजामा खर्च गर्दै आएको छ । मन्दिरमा भक्तजनको आकर्षण बढेकैबेला २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति ग¥यो ।
समितिकै पहलमा दाताबाट सहयोग सङ्कलन गरी राजधानीका सांस्कृतिक सम्पदामध्ये बत्तीसपुतलीको श्रीरामचन्द्र मन्दिर पहिलोपटक पुनःनिर्माण भएको थियो । भूकम्पपछिको पुनःनिर्माणको हिसाबकिताबसमेत समितिले सुरक्षितसाथ राखेको छ । दाताले जुन प्रयोजनका लागि निजी गुठी स्थापना गरेर मन्दिरका नाममा जग्गा राखेका थिए । त्यसमा खर्च हुन सकेको छैन । उदारमना दाताको सहयोगबाट नै मन्दिरको जीर्णोद्धार, पुनःनिर्माण एवं नित्य, नैमित्तिक कर्मसमेत सम्पादन हुन थालेको छ ।
गुठीका नाममा रहेको केही जग्गा सर्वोच्च अदालतको आदेशमा सट्टापट्टा भएको निजी गुठीका सचिव राणाले सुनाउनुभयो । सर्वोच्चले जिल्लाभर गुठीको जग्गा सट्टापट्टा गर्न सकिने गरी सर्वोच्च अदालतले आदेश दिएपछि बत्तीसपुतली र हाँडीगाउँका जग्गा रैकर गरी साँखु र नाङ्लेभारका जग्गा श्रीरामचन्द्र मन्दिर निजी गुठीका नाममा राखिएको उहाँले जानकारी दिनुभयो ।
यसरी सट्टापट्टा गरिएका जग्गा कमाइरहेका मोहीले अहिलेसम्म तिरो भने बुझाउन आएका छैनन् । साँखु एवं नाङ्लेभारेका धेरै मोहीले तिरो नतिरेको मन्दिरको निजी गुठीले जनाएको छ । अदालतको आदेशअनुसार करिब ३० रोपनी जग्गा सट्टापट्टा भएको थियो ।
श्रीरामचन्द्र मन्दिर निजी गुठीमा तिरो तिर्न आउनुभएका काठमाडौँ महानगरपालिका वडा नम्बर ७ पनेकु टोलका सागर सिग्देल हजुरबाका पालामा गुठीको १२ आना जग्गा खरिद गरी उपभोग गरेकामा अहिले सडकले लिएर आठ आनामात्र बाँकी हुँदा पनि सडकमा परेको चार आनाको पनि तिरो तिर्नुपरेको गुनासो गर्नुहुन्छ । निजी गुठीले भने जग्गाको हालसाविक गर्न नसक्दा यस्तो समस्या देखिने गरेको जनाएको छ । १२ आना जग्गाको वार्षिक १ हजार ७ सय रुपैयाँ तिरो तिर्ने गरेको सिग्देलले राससलाई जानकारी दिनुभयो ।
बत्तीसपुतलीमा रहेको द्वारिका होटलमा श्रीरामचन्द्र मन्दिर निजी गुठीको करिब ११ रोपनी जग्गा छ । गुठीका ३ कित्ताका जग्गा होटलमा रहेको जनाइएको छ । पहिलो कित्तामा ९ रोपनी १५ आना, अरु दुई कित्तामा क्रमशः १० र १३ आना जग्गा रहेको छ । होटलले केही वर्षअघिसम्म वार्षिक ७ हजार रुपैयाँ मात्र तिरो तिर्ने गरेको थियो । विगत वर्षदेखि भने वार्षिक १ लाख रुपैयाँ दिन थालेको निजी गुठीका सचिव राणाले सुनाउनुभयो ।
२०६५ साल देखि निजी गुठी जग्गा बेचबिखन रोक्का हुँदा मोहीलाई समस्या भएको छ । यसबाट मोहीले गर्जो टार्न पाएका छैनन् । अदालतको आदेशमा १५ वर्षदेखि निजी गुठी जग्गा बेचबिखनमा रोक लगाइएको हो । यो व्यवस्था छिटो हटाउन मोहीले माग गर्दै आएको समितिका सदस्य सचिव टन्डन बताउनुहुन्छ ।
बत्तीसपुतली थुम्कोमा ३ रोपनी चार आनामा मन्दिर क्षेत्र फैलिएको छ । सडकबाट ९० फिट उचाइमा मन्दिर स्थापित छ । मन्दिरमा राम, सीता, भरत, लक्ष्मण र शत्रुघ्नको पूर्णकदको मूर्ति ढुङ्गामा कुँदेर स्थापना गरिएको छ । बाहिरी भागमा हनुमानको पूर्णकदको मूर्ति छ । मन्दिर वरपर शिवालय छ । देवी, गणेशलगायत मूर्ति पनि मन्दिर क्षेत्रमा स्थापित छ । नेपालमा राजकीय गुम्बज शैलीमा निर्माण गरिएको थोरै मन्दिरमध्येमा यो पनि पर्छ ।
यहाँ प्राप्त पुरातात्विक अवशेषबाट बत्तीसपुतली ऐतिहासिक र पुरातात्विक महत्व भएको प्राचीनस्थल हो भन्नुहुन्छ संस्कृतिविद् समेत रहनुभएका समितिका सदस्य सचिव टन्डन । तर यो विषय प्रमाणित भने नभएको उहाँले सुनाउनुभयो । बत्तीसपुतली नाम रहनुमा विभिन्न किम्बदन्ती सुनिने गरेको छ ।
एउटा किंवदन्तीअनुसार अहिले श्रीरामचन्द्रको भव्य मन्दिर भएको स्थानमा स्वर्गबाट ३२ वटी अप्सरा पुतलीकारुपमा आएर एक÷एक महत्वपूर्ण कुरा सुनाएर गएका थिए । यसैले यो ठाउँलाई बत्तीसपुतली भनिएको हो भन्ने स्थानीय बुढापाकाको भनाइ छ । १९५३ सालको अभिलेखमा पहिलोपटक बत्तीसपुतली नाम लेखिएको विषय नयराज पन्तले रुपरेखा अङ्क १५७ को लेखमा उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा