
पोखरा । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्रे गर्न शुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रे थालिएको हो ।
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा सुरुआतमा सात सय मिटर सडक कालोपत्र हुनेछ । अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उहाँको भनाइ थियो ।
पौडेलले भन्नुभयो– सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन । सडक सम्माउने लगायतका काम जारी छन् । बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ ।’ मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ । अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।
राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने इञ्जिनियर पौडेलले बताउनुभयो । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ । यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो ।
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो । निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो ।
एशियाली विकास बैंक(एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको हो ।
पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्म ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्छ । त्यो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय रहेको छ ।
जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । पश्चिम खण्डको निर्माणका लागि ७ अर्ब ४० करोड करोड ४६ लाख रुपैयाँमा २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको काम २०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति