
दाङ । तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा ६ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे युद्ध तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका छोराछोरीलाई त्यही विद्यालयमा पढाउने गरिन्छ । यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ । त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्यम बनेको छ ।
आफू सात महिना हुँदा बुबा सहिद भएपछि टुहुरो भएका रोल्पा सुनछहारीका पर्शुराम रोकाले विज्ञान विषय लिएर कक्षा १२ सम्म त्यही विद्यालयमा पढ्नुभयो । ‘बुबा शहीद भएपछि टुहुरो हुनुभएका रोकालाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । यसपछि सहिद स्कुलमा कक्षा ९ देखि पढ्न आउनुभयो । ‘मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने दिदीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ’ उहाँले भन्नुभयो– ‘मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।’
यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताउनुभयो । शिक्षकलाई बुबाजस्तै, खाना पकाउने दिदीलाई आमा, बुबाजस्तै र त्यहाँ पढ्ने विद्यार्थीलाई दाजुभाइजस्तै लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ‘बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र?’ उहाँले भन्नुभयो– ‘तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महशुस भएको छ ।’
यहाँ सबै शहीद, बेपत्ता, घाइतेका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उहाँले बताउनुभयो । त्यही विद्यालयमा द्वन्द्वपीडित अञ्जना दहितले पनि १२ पढी सक्नुभयो । उहाँले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीबीच भावना साटासाट हुने गरेको बताउनुभयो । ‘पढाइ त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’ उहाँले भन्नुभयो, “सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।’ कोही शहीद परिवारका हुनुहुन्छ, कोही बेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका हुनुहुन्छ । उहाँहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद् अनुभूति गराउँछ ।
उहाँका बुबाले तीन÷चार वर्ष जनयुद्धका क्रममा जेल जीवन बिताउनुभएको थियो । उहाँहरु जस्तै अहिले विद्यालयमा छ सय ४५ द्वन्द्वपीडित आवासीय विद्यार्थी अध्ययनरत हुनुहुन्छ । विद्यालयमा शिशुकक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । २०६६ सालमा जनकल्यान मावि दुधराससँग सहकार्य गरी उक्त विद्यालय सञ्चालनमा आएको हो । त्यही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताउनुभयो । २०७७ सालदेखि विद्यालयमा सिटिइभिटीअन्तर्गत तीन वर्षे सिभिल इन्जिनियरिङ पनि पढाइ भइरहेको छ । ‘विद्यालयको प्रकृति द्वन्द्वपीडित शिक्षा कार्यक्रमअन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा स्पस्ट प्रमाणसहितका विद्यार्थी आउनेक्रम घट्दो छ’ उहाँले भन्नुभयो– ‘कक्षा ८ देखि तल्लो कक्षामा द्वन्द्वपीडितका छोराछोरीभन्दा तेस्रो पिँढीका नाति, नातिना बढी सक्रिय रहेको देखिन्छ ।’
कक्षा ८ देखिमाथि मात्रै नीतिगतरुपमा प्रमाणित द्वन्द्वपीडितका छोराछोरी रहेको जनाउँदै यो अवस्थाले आगामी दिनमा सहिद स्मृति विद्यालयमा कस्ता विद्यार्थीलाई भर्ना गरी सञ्चालन गर्र्ने भन्ने कुरा चुनौती रहेको उहाँले बताउनुभयो ।
विद्यालयमा २१ जना शिक्षकसहित स्वास्थ्यकर्मी एक जना, लेखापाल एक जना, लाइब्रेरियन एक, कार्यालय सहयोगी दुई, सुरक्षागार्ड एक, मेस कर्मचारी चार जना, सरसफाइ एक जना कर्मचारी कार्यरत रहेका छन् । चारवटा तीन तले भवन छन्, भने चारवटा दुई तले भवन छन् ।
उच्च शिक्षा नहुँदा समस्या
द्वन्द्वपीडित परिवारका विद्यार्थीले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनुपर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठनपाठनको व्यवस्था गरेको भए पनि त्योभन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्द्वपीडित विद्यार्थी पढाइ छोड्ने गरेको भन्दै त्योभन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनुपर्ने विद्यार्थीको माग छ । ‘सरकारले १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था त गरेको छ’ विद्यार्थी पर्शुराम पुनले भन्नुभयो– ‘त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहुँदैन हामीलाई माथिल्लो शिक्षा कसले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको व्यवस्थापन गर्नुपर्छ ।’
उहाँले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरु जस्ता शहीद परिवारलाई दुःखी बनाएको बताउनुभयो । माओवादी टुटफुट हुँदा सहिदका सपना अझै पूरा हुन नसकेको उहाँको भनाई छ ।
अभिभावक सहिद भएपछि टुहुरा बालबालिकालाई पालनपोषण र शिक्षा दिन शहीद आवासीय विद्यालय खोलिएको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका मन्त्री मास्कीले मुलुकमा पाँचवटा यस्ता विद्यालय रहेको जनाउँदै ती विद्यालयले द्वन्द्वपीडितका विद्यार्थीलाई दिएको शिक्षा र पालनपोषण निकै सराहनीय रहेको बताउनुभयो । उहाँले इतिहास बोकेका परिवारका सन्तानको छहारी भएका यस्ता विद्यालयलाई सरकारले उचित ढङ्गले मूल्याङ्कन गरेको छ भन्नुभयोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए