
धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् ।
पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ शुरु गर्न माग गर्दै विद्यार्थीहरू २४ सै घण्टा रिले अनशनमा छन् । ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित जारी रिले अनशनमा बसेका विद्यार्थीहरूको पूर्ण क्षमतामा पठनपाठन र परीक्षाका गतिविधि चाँडै सञ्चालन गरिनुपर्ने एक सूत्रीय माग छ ।
मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा गम्भीर बन्न आग्रह गर्दै एक सातादेखि रिले अनशन जारी रहे पनि कतैबाट सुनुवाइ नभएको प्रतिष्ठानस्थित विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले बताउनुभयो । प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक विगत २५ दिनदेखि बढुवा माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षामा समेत असर पर्ने भएपछि ध्यानाकर्षण गराउन रिले अनशन जारी राखिएको समाजका अध्यक्ष डा रजकको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पठनपाठन सुरु नभए हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ ।”
प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक लामो समयदेखि आफ्नो बढुवा नभएको भन्दै पटक–पटक आन्दोलनमा उत्रिएका छन् । गत कात्तिकमा पनि करिब एक महिना आन्दोलनका कारण प्रतिष्ठानको स्वास्थ्य र शैक्षिक गतिविधि प्रभावित बनेपछि कात्तिक २० गते धरानका राजनीतिक दलको रोहबरमा प्रतिष्ठान प्रशासन र आन्दोलनकारीबीच वार्ता भएको थियो ।
वार्तामा लोकसेवा आयोगसँग परामर्श लिएर पुस २ गतेदेखि बढुवाका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएपछि आन्दोलन अन्त्य भएको थियो । तर सहमतिअनुसार प्रक्रिया अघि नबढेको भन्दै शिक्षक, कर्मचारी तथा चिकित्सक पुनः आन्दोलनमा उत्रिएका कारण पठनपाठन र स्वास्थ्य सेवामा प्रभाव परिरहेको छ । लोकसेवा आयोगले कानुनबमोजिम प्रतिष्ठानको नियमावली संशोधन गरेर मात्र नियुक्ति तथा बढुवा प्रक्रिया अघि बढाउन पटक–पटक निर्देशन दिएको छ तर प्रतिष्ठानकै ढिलासुस्तीका कारण नियमावली संशोधन हुनसकेको छैन ।
उच्च अदालत विराटनगरले समेत लोकसेवा आयोगको उपस्थितिबिना बढुवा प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । आन्दोलनमा उत्रिएका शिक्षक, कर्मचारी भने तुरुन्तै बढुवा प्रक्रिया अघि बढाउन माग गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले यसअघि नै प्रतिष्ठानको समस्या समाधान गर्न प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई निर्देशन दिनुभएको थियो । स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीलाई सञ्चालक परिषद् (सिनेट) बैठक राखेर समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।
कामु उपकुलपति कार्कीले कार्यकारिणी समिति (कास) बैठक राख्ने प्रयास गरे पनि आन्दोलनकारीले सुरुमै बढुवा प्रक्रियाको ग्यारेन्टी माग्दै आन्दोलन जारी राखेपछि समस्या समाधान हुनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना