
काठमाडौँ । नेपाल ट्राफिक प्रहरीले ६ महिना अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकाहरु ३९ हजार जनालाई कारबाही गरेको छ ।
प्रहरीले मापसेमाथिको कारबाहीलाई तीब्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०र८१ को गत साउनदेखि पुससम्म मापसे गरी सवारी चलाउने ३९ हजार २ सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।
मापसेबाट गरिएको कारबाहीबाट ३ करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ ।
चालकले मापसे गरी सवारीसाधन चलाउँदा आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसीटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँकाअनुसार यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सक्रियता देखाउँदै आएको छ । “दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउन प्रत्येक चालकले सही हालतमा सवारीसाधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक हुन्छ”, केन्द्रीय प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।
यस आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६ सय २७, कोशी प्रदेशमा २ हजार ५ सय २४, मधेस प्रदेशमा २ हजार २१, बागमती प्रदेशमा १ हजार ९८, गण्डकी प्रदेशमा ८ हजार ९ सय २३, लुम्बिनी प्रदेशमा २ हजार ७ सय ७३, कर्णाली प्रदेशमा १ हजार २ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारबाहीमा परेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभावी हिँड्नेका कारण पनि सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । काठमाडौँ उपत्यकाका धैरै ठाउँमा सवारीसाधन चेकिङ गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेका कारण चालक सजग र सचेत भई जनधनको क्षतिमा कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसलाई निरन्तरता दिँदै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि विषेश जोड दिँदै आएका छौँ ।’
यसअवधिमा कारबाहीमा पर्नेबाट काठमाडौँ उपत्यकामा १ करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय, मधेस प्रदेशमा २० लाख ४२ हजार ५ सय, बागमती प्रदेशमा ११ लाख १७ हजार, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार, कर्णाली प्रदेशमा १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
यस अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१, कोशी प्रदेशमा २८, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।
प्रहरी प्रवक्ता ढकाल भन्नुहुन्छ– मापसे, लापसे नगरी सवारीसाधन चलाउने कार्यलाई प्रवद्र्धन गर्न प्रहरी र नागरिकबीच सहकार्य र समन्वय गरी अगाडि बढ्नु आवश्यक छ । हाम्रो मुख्य ध्यान दुर्घटनाबाट धनजनको क्षति नहोस् भन्ने नै हो । नागरिकले पनि प्रहरीको यो कार्य मेरो आफ्नै सुरक्षाका लागि हो भन्ने कुरा मनन् गरिदिएमा सबैका लागि राम्रो हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना