
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।
आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिनुभयो । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।
जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिनुभयो ।
आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो ।
जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिनुभयो । उहाँले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध