
महोत्तरी । पर्याप्त उखु नपुग्दा जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग र रामनगर चिनी मिलमा उखु पेल्ने (क्रसिङ) प्रभावित भएको छ । क्रसिङ शुरु गरेको एक साता भइसके पनि किसानले उखु नल्याइदिँदा घान नपुगेर दिनदिनै क्रसिङ रोक्नुपरेको ती उद्योगले जनाएका छन् ।
यसपटक क्रसिङ गत मङ्सिर २६ गतेबाट शुरु भएको हो । ‘नो केन’ (उखु अपुग) ले अहिलेसम्म राम्ररी क्रसिङ हुन नसकेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । ‘हामीले यसपालि चाँडै समयमै क्रसिङ शुरु गर्यौँ, तर उखु भने पर्याप्त नआएर घान नपुग्दा क्रसिङ दिन बिराएर गर्नुपरेको छ’ उहाँले भन्नुभयो ।
उद्योगको क्षमताअनुसार क्रसिङ हुन दैनिक ४० देखि ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ । क्रसिङ थालिएको पछिल्ला दिनमा २०–२२ क्विन्टलमात्र उखु पुग्दा क्रसिङ प्रभावित भएको हो । यसले गर्दा एक दिन बिराएर उद्योग चलाइँदा खर्चिलो भएको र चिनी उत्पादन पनि हुन नसकेको महाप्रबन्धक शुक्लाले बताउनुभयो ।
आव २०८१÷८२ मा सरकारले उखु कटानपूर्व नै मूल्य निर्धारण गरेपछि तालिकाअनुसार क्रसिङ राम्ररी चल्छ भन्ने उद्योगको बुझाइ थियो । गत वर्ष उखुको मूल्य निर्धारणबारे उखु उत्पादक महासङ्घ आन्दोलनमा रहँदा पुस ४ गतेमात्र क्रसिङ सुरु भएको थियो । यद्यपि क्रसिङ सुरु गरिँदा पनि मूल्य निर्धारण भने भइसकेको थिएन ।
तर यसपालि मूल्य निर्धारण सरकारले समयमै गरिदिँदा मागअनुसार नपाए पनि उखु दिनभन्दा पहिले नै कति पाइने भन्ने निधो हुँदा किसानले राहत महशुस गरेका छन् । त्यसैले मूल्यमा चित्त नबुझे पनि किसान उखु काट्ने तयारीमा छन् । सरकारले सबै कुराको मूल्यवृद्धिको अनुपात मिलाएर मूल्य निर्धारण नगरिदिँदा आपूmहरू मर्कामा भए पनि कटानपूर्व नै मूल्य निर्धारण हुँदा केही राहत भएको किसानको भनाइ छ ।
‘मूल्य त अझै उचित भएन, तर सरकारले समयमै निर्धारण गरेको छ । परम्परागत चाडपर्व र अन्य हिउँदे बाली लगाउने चटारोले पछिल्लो साता उखु कटान पर्याप्त हुन नसकेको हो’ भङ्गाहा–४ रामनगरका उखु किसान अरुण गिरी भन्नुहुन्छ– ‘मजदुर अन्य काममा लाग्दा कटान गर्न नसकिएको हो, अब अन्य हिउँदे बाली लगाउने काम र मेलाजात्रा पनि सकिएका छन्, अब कटान चल्छ ।’
यसपालि उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष लिएको छ । जसमा महोत्तरीबाट २४ लाख, सर्लाहीबाट सात लाख र अन्य जिल्लाबाट चार लाख क्विन्टल उखु सङ्कलन हुने जनाइएको छ । क्रसिङका लागि २० लाख क्विन्टल उद्योग गेटमा र अन्य विभिन्न ठाउँमा सञ्चालन गरिएका खरिद केन्द्रमा तौल भएर आउने महाप्रबन्धक शुक्ला बताउनुहुन्छ । यो परिमाणको उखु क्रसिङबाट ३ लाख १५ हजार क्विन्टल चिनी उत्पादन हुने महाप्रबन्धक शुक्ला बताउनुहुन्छ ।
अब मेलापात सकिएका र अन्य हिउँदेबाली लगाउने चाँजो मिल्दै गएको हुँदा अबको साता कटान पर्याप्त हुने उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ । अहिले ठाउँठाउँका सडक मर्मत हुन नसक्दा उखुका गाडी चल्न असजिलो छ । क्षतिग्रस्त सडक मर्मत हुँदैछन् । त्यसैले शुरु साता उखु अपुग भएको कुशवाहा बताउनुहुन्छ ।
एभरेष्ट चिनी उद्योगले गत वर्ष २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरेको थियो ।
गत वर्षभन्दा यसपालि उखुखेतीको क्षेत्रफल र उत्पादन बढेको हुँदा गत वर्षभन्दा ६ लाख क्विन्टल बढी उखु क्रसिङ हुने उद्योगका प्रबन्धक विनोद यादवले स्पष्ट पानुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै