
डडेल्धुरा । अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहनुभएको हो । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
जोशी अहिले ३३ वर्षका हुनुहुन्छ । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाउनुभयो । काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उहाँले बताउनुभयो । अहिले परिवारको सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताउनुभयो । छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उहाँ अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित हुनुभएको छ ।
च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताउनुभयो । “पहिले च्याउको बीउ लिन काठमाण्डौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उहाँले भन्नुभयो, “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।”
उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताउनुभयो । एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उहाँले जानकारी दिनुभयो । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उहाँले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गर्नुभयो ।
“डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु”, जोशीले भन्नुभयो, “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।” च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत भइरहेको उहाँले जानकारी दिनुभयो ।
“विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु”, जोशीले भन्नुभयो । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उहाँले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिनुभयो । स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउनसके युवाको विदेश पलायनदरमा कमी आउने उहाँको बुझाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति