
बेनी । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका र सङ्घीय सरकारको रु एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुईतले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।
भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहजरुपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताउनुभयो ।
चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्म गरिएको बताउनुभयो ।
उहाँले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड पाँच लाख ४० हजार चार सय ४२ र सङ्घीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती÷मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गर्नुभएको हो । उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गर्नुभएको छ ।
भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरु रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिनुभयो ।
नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।
रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नु्पर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति