+

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

तनहुँ ।  मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । 

यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ । दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिनुभयो । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ । 

पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको पाण्डेले बताउनुभयो । यसअघि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम चरणको कालोपत्रको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि सडकको मोटाइ छ सेन्टिमिटर थियो, अब त्यहीँ ठाउँमा थप चार सेन्टिमिटरको काम हुनेछ ।’ अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ ।

पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर दूरीमा कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेनको कालोपत्र भएको छ । पाण्डेले भन्नुभयो– ‘पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम शुरु गरिनेछ । अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङरोगनको काम अगाडि बढ्नेछ ।’

पूर्वी खण्डअन्तर्गत नै दमौलीको बुल्दीपुलबाट घाँसीकुवातर्फको खण्डमा पनि एक–दुई दिनभित्र कालोपत्रको काम सुरु गर्ने तयारी रहेको पाण्डेले बताउनुभयो । दमौली बजारमा पनि सडक विस्तारका लागि अहिले नाला बनाउने काम भइरहेको छ । दमौली बजारमा केन्द्रविन्दुबाट २३–२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ । पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । 

पश्चिमखण्ड (जामुने–पोखरा) को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट