
काठमाडौँ । काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले कानुन निर्माण गरेको छ ।
महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अख्तियार प्रयोग गरी नगर कार्यपालिकाले काठमाडौँ महानगरपालिका सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका, २०८० बनाएको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष विमलकुमार होडाले जानकारी दिनुभएको छ ।
यस क्षेत्रका सम्पदाको सम्भार, प्रवद्र्धन र विकास गर्न तथा परम्परागत जात्रापर्वको सञ्चालन र व्यवस्थापनबाट यस क्षेत्रको सांस्कृतिक मौलिकताप्रति भावी पुस्ताले गौरव महशुस गर्न सकुन् भन्ने उद्देश्यले समग्र र बृहत् गुरुयोजनाका साथ काम गर्न कानुन निर्माण भएको उहाँले सुनाउनुभयो ।
निरन्तर रुपमा सुवर्णपुर क्षेत्रमा सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) ले दिएको अधिकारअनुसार महानगरपालिकाले यो कानुन बनाएको हो । सुवर्णपुर क्षेत्रमा महानगरपालिका वडा नम्बर ७ को अधिकांश भाग र वडा नम्बर ६ र ८ को केही भाग पर्ने पनि वडाअध्यक्ष होडाले जानकारी दिनुभयो । यो क्षेत्रका सम्पदाको व्यवस्थापन गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति पनि गठन गरिएको छ ।
सुवर्णपुर क्षेत्रमा पश्चिममा धोबीखोला, पूर्वमा कुमारीगाल, उत्तरमा चक्रपथ र दक्षिणमा सिफलचौर हुँदै कालोपुल धोबीखोलाको चार किल्लाभित्रको ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्र पर्ने भनी परिभाषित गरिएको छ ।
महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्षको अध्यक्षतामा गठन हुने सम्पदा संरक्षण समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिको संयोजक, महानगरपालिकाको वडा नम्बर ६ र ८ का वडाध्यक्ष वा निजले तोकेको वडा सदस्य एक÷एक जना गरी दुई जना, महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख, पशुपति क्षेत्र विकास कोषको प्रतिनिधि, पुरातत्व विभाग र गुठी संस्थानको अधिकृतस्तरको प्रतिनिधि, प्रहरी वृत्तका एक जना, सुवर्णपुर क्षेत्रका नित्य पुजारीमध्येबाट तीन जना, संस्कृतिविद्, पुरातत्वविद्, इतिहासकार, समाजसेवी, बुद्धिजीवी वा भक्तजनमध्येबाट अध्यक्षले मनोनयन गरेका स्थानीय (कम्तीमा एक जना महिलासहित) व्यक्ति चार जना सदस्य रहने व्यवस्था गरिएको छ ।
समितिले तोकेको स्थानीय व्यक्ति एक जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ । सुवर्णपुर सम्पदा क्षेत्र पशुपति क्षेत्रभित्र नै पर्छ । पशुपति क्षेत्रभित्र नै पर्ने भए पनि सम्पदाको संरक्षणमा उल्लेख्य कुनै काम हुन नसकेकाले कानुन निर्माण गरी समिति गठन गरिएको वडा अध्यक्ष होडाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति