+

पूर्वाञ्चल विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले  मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा नेपालमा पहिलो पटक ‘प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको हो ।

आज  आयोजित पत्रकार सम्मेलनमा शिक्षाशास्त्र सङ्कायका डीन प्राडा अनिलकुमार पोखरेलले सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत, बङ्गलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिनुभयो । सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन लगायत विषयमा ४० भन्दाबढी सहभागीले आफ्नो अध्ययन, अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम तालिका रहेको पोखरेलले जानकारी दिनुभयो । 

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिबाट बालबालिकासम्बन्धी विविध कार्यशालामा उनीहरूको सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच, सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुनेछ । 

डीन पोखरेलले भन्नुभयो– ‘सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत रहने गरी इसिडीसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।’

सम्मेलनले बालविकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायत विशेष कार्यक्रमहरूको पहिचान गर्न र त्यस अनुरुप कार्यक्रम थप गर्न सघाउ पुग्ने विश्वविद्यालयले विश्वास लिएको छ । 

विश्वविद्यालयले काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायत विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै