
चितवन । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।
शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम शुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ ।
दैनिक १५० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो संख्या बढाइएको हो । बैद्यले भन्नुभयो– ‘आउँदो सातासम्म २०० जना पुग्छन् ।’
सडकका ६ वटा पुलको काम भइरहेको छ । हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँचवटा पुलका पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदैछ । निर्माण कम्पनीले नक्साङ्कन लगायतका कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ । वैद्यले भन्नुभयो– ‘निरन्तर काम गर्न पाएको भए यतिबेला ४० प्रतिशत सकिन्थ्यो ।’
मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यो खण्डमा विस्तारको काम भइरहेको छ । वैद्यका अनुसार विस्तार चार ढङ्गले गरिँदैछ । निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरुमा दुई लेन अर्थात् नौ मिटर फराकिला सडक बनाइँदैछ । उकालो ठाउँमा तीन लेन अर्थात् १२ मिटरको हुनेछ ।
करिब एक दशमलव पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्र कुरिन्टार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटार लगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदैछ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदैछ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इ विजय दरैका अनुसार चाडपर्व सकिएसँगै कामलाई तीव्र बनाइएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा– मुग्लिन सडकलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएकाले प्रगति कम भएको दरैले जानकारी दिनुभयो ।
विश्व बैङ्कको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआइ सिजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।
राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुत काम गर्नुपरेको उहाँको भनाइ छ । त्यसका कारण चाहेर पनि तीव्र गतिमा काम गर्न सकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति