
झापा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२ औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिनुभको छ । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।
उहाँले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिनुभयो । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ उपसमिति गठन गरिएको छ । समितिले आफ्नो जिम्मेवारीअनुसार धमाधम काम गरिरहेका छन् ।
हाल मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । अर्जुनधारा–८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माणको तयारी गरिएको छ ।
अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहने उहाँले बताउनुभयो । धाममा ५० लाख रुपैयाँको अक्षयकोष रहेको र कोषलाई २ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायणसँगै सोही सङ्ख्यामा यजमानसमेत राख्ने लक्ष्य लिइएको यज्ञका लागि ५१ हजार रुपैयाँ सहयोगसहित आफ्ना पितृको नाम सङ्कल्पसहित यजमान बन्न पाइने कोषाध्यक्ष जोशीले जानकारी दिनुभयो ।
महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित दुई करोड १६ लाख आम्दानी हुने अनुमान गरिएको छ । यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएको छ । दैनिक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सङ्गितमय कथा प्रवचन, बिहान ७ बजेदेखि श्रीमद्भागवत कथा पाठपारायण, दैनिक साझ ७ः३० देखि ९ बजेसम्म भजनकीर्तनसहित रात्रि जागरण, मङ्सिर १५ गते बिहान शतविजरोपण कार्यक्रम तय गरिएको कोषाध्यक्ष जोशीले बताउनुभयो ।
सरकारले नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटमा समेत अंकित गरिसकेको छ ।
महाभारतकालीन किंबदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानको रुपमा यस धामलाई मानिएको छ ।
विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाईहरु फर्काएर ल्याएको भनाइ छ । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषवाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति