+

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

सिन्धुपाल्चोक ।  यहाँका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । 

स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन । 

चालु आर्थिक वर्ष शुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् ।

मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो । पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् ।

बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत रु एक करोडमा ठेक्का आह्वान गरिएको थियो । यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक  ७५ लाख र माथिल्लो खण्डमा २८ लाख गरी जम्मा एक करोड  ३ लाख रुपैयाँमा ठेक्का लागेको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा प्रतिघनफिट  दुई रुपैयाँ घटाएर ठेक्का आह्वान गरिएको  शर्माले उल्लेख गर्नुभयो । 

बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा  २६ लाख रुपैयाँ मा ठेक्का परेको छ । बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व सङ्कलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा  १० करोड कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार  २३ करोड ५२ लाखमा सुदिपा ट्रेनिङ प्रालिलाई  ठेक्का परेको हो । 

नगरपालिकाले गत वर्ष . ३३ करोडमा प्रतिघनफिट ९ रुपैयाँ का दरले ठेक्का परेकामा चालु आवमा २ रुपैया घटाउँदा करिब १० करोड नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताउनुभयो । 

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ठेक्का लाग्न सकेको छैन । नगरका प्रमुख इञ्जिनियर विकास श्रेष्ठका अनुसार चालु आवका लागि ईन्द्रावतीतर्फ  ११ करोड पाँच लाख ७९ हजार एक सय ६१ र सुनकोशीतर्फ  दुई करोड ८४ लाख ७३ हजार सात सय २७ रुपैयाँ को बोलपत्र आह्वान जारी भए पनि ठेक्का लाग्न सकेको छैन । गत आवमा ईन्द्रावतीतर्फ १५ करोड ४९ लाख छ हजार सात सय ९४ र सुनकोसीतर्फ  चार करोड ७५ लाख ६० हजार दुई सय ९३ रुपैयाँ मा सम्झौता भएको लागेको थियो । 

इन्द्रावती गाउँपालिकाले गत आवमा  १२ करोड रुपैयाँमा ठेक्का लगाएकामा चालु आवमा प्रतिघनमिटर २ रुपैयाँ  घटाएर सातौँ पटक आह्वान गर्दा पनि सम्झौता नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । पालिकामा कार्यरत करारका कर्मचारीलाई आन्तरिक आम्दानीबाट तलब खुवाउने गरिएको भन्दै राजस्व सङ्कलन नभएपछि तलब व्यवस्थापनमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिकाले २१ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेपनि हालसम्म ठेक्का नलागेको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताउनुभयो । सुनकोसी गाउँपालिकाको चालु आवका लागि २२ लाख रुपैयाँमा बोलपत्र जारी गरे पनि ठेक्का लागेको छैन ।

‘सातौँ पटकसम्म सूचना प्रकाशित गरेका छौँ । घाटघाट अनुसार पनि छुट्ट्याएर ठेक्का निकाल्दासमेत सम्झौता भएको छैन’ सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भन्नुभयो । पालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार तीन वर्ष अगाडि  ६० लाख रुपैयाँको ठेक्का लागेकामा त्यसपछि ठेक्का लाग्न सकेको छैन् ।

सिन्धुपाल्चोकको सुनकोशी, ईन्द्रावती र भोटेकोसी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योग सञ्चालनमा छन् । पूर्वाधार निर्माण नहुँदा क्रसरले उत्पादन गरेका बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको क्रसर सञ्चालकको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट