
उदयपुर । उदयपुर र सिन्धुलीको कमलाखोँच क्षेत्रका आदिवासी दनुवार जातिमा बड्की एकादशीको रौनक शुरु भएको छ ।
हरिबोधनी एकादशीका दिन बड्की एकादशी अर्थात् दनुवार समुदायले यस दिनलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा मनाउने गर्दछन् । आज साँझदेखि नै दनुवार समुदायमा यस चाडको कार्य प्रारम्भ भएको छ । ‘आज नै नुहाएर घरका कुमार केटा र कुमारीहरुले साँझ माछामासु खाँदैनन्’ उदयपुरको कटारी नगरपालिका–४ का स्थानीय दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य लीला अधिकारी दनुवारले भन्नुभयो– ‘भोलि एकछाक खाएपछि व्रत शुरु हुन्छ ।’
दनुवार जातिले परिवार समुदायमा सुख, शान्ति र समृद्धि आउने जनविश्वासका साथ ठूलो पर्व बड्कीमा व्रत बस्ने परम्परा रहेको पनि अधिकारी दनुवारले बताउनुभयो । व्रतको परम्परा चार दिनसम्म चल्नेछ । ‘एकादशीका दिन दनुवार वेशभूषामा सजिएर कमला नदीबाट जल ल्याएर व्रत जारी राख्छौँ’ कटारी नगरपालिका–३ का स्थानीय दनुवार जागरण समाजका पूर्वकेन्द्रीय सदस्य वैजनाथ दनुवारले भन्नुभयो– ‘कन्या केटी, कन्या केटा र विवाहित महिलाले पनि व्रतमा सहभागी हुन पाउँछन् ।’
कमला नदीमा जल लिन उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाका दनुवार समुदाय नदीमा पुग्ने गरेका छन् । व्रतको अन्तिम परम्पराअनुसार पारन गरेर अर्थात् चिउरा भिजाएर लड्डु बनाएर खाने प्रचलन दनुवार समुदायमा छ । पछिल्लो समय आदिवासी बस्तीका रुपमा यस खोँच क्षेत्रमा रहेका दनुवार समुदायका अगुवाले बड्कीलई विशेष रुपले मनाउने गरेका छन् । यस दिन टोलटोल र विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना गरिनेछ । कटारी नगरपालिका–४ र वडा नम्बर ५ र सिन्धुलीको दुधौली नगरपालिकाको विभिन्न वडामा दनुवारहरुले सामूहिक रुपमा यो पर्व धुमधामका साथ मनाउँदैछन् ।
वेशभूषाको महत्वका साथ वेशभूषामा सजिएर उपस्थित भई दनुवार भाषा, धर्म, संस्कृति र अधिकारका सवालमा अन्तरक्रिया मन्तव्य र जनचेतनामूलक कार्यक्रमका साथमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने पाँच मौजा कछाडिया दनुवार समाज कटारी–५ उदयपुरका अध्यक्ष फूलदेव अधिकारी दनुवारले बताउनुभयो ।
दुई स्थानीय निकायले दिए सार्वजनिक बिदा
दनुवार समुदायको ठूलो पर्व बड्की एकादशीका दिन उदयपुरको कटारी र सिन्धुलीको दुधौली दुवै नगरपालिकाले सार्वजनिक बिदा दिइसकेका छन् । बहुसङ्ख्यक आदिवासी दनुवार जातिको विशेष पर्वमा बिदा दिएको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारले बताउनुभयो । यो पर्व नगरपालिकाको स्थानीय पर्वमध्ये धेरैले मनाउने पर्व रहेको प्रमुख दनुवारको भनाइ छ ।
त्यसैगरी, हरिबोधनी बड्की एकादशीकै दिन कटारी नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । मौलिक कला, संस्कृति र स्थानीयको ठूलो पर्वमा बिदा दिएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दनुवार जातिको जनसङ्ख्या जम्मा जनसङ्ख्याको ० दशमलव २८ प्रतिशत अर्थात् ८२ हजार सात सय ८४ जना रहेको छ ।
उदयपुरको कटारी र सिन्धुलीको दुधौली नगरपालिका दनुवार समुदायको बाहुल्यता रहेको पालिका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित