
काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा सङ्घीय मन्त्रालयको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण शुरु गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि (सिआरपीडी) को राष्ट्रिय प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भई परराष्ट्र मन्त्रालयमार्फत सिआरपीडी समितिमा पठाइसकेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले जानकारी दिनुभयो ।
मन्त्री सुडिले पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोग सेवा कार्यान्वयन सम्बन्धमा विज्ञ तथा सरोकारवालासँग छलफल तथा समन्वय गरी कार्यविधिको मस्यौदा तर्जुमा भइरहेको बताउनुभयो । अपाङ्गता अधिकारकर्मीहरुले मुलुकका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिको आवश्यकता र सवाललाई समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको सङ्गठनको क्षमता विकास र विकास प्रक्रियामा उनीहरूको सहभागिता, नेतृत्व विकास र आवाजलाई बलियो बनाउन अन्तर्राष्ट्रिय विकास निकायले राष्ट्रिय नीति र मागलाई ध्यानमा राखेर काम गर्नुपर्ने माग गर्दै आएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकले सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनअनुसार संसारको कूल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । हरेक वर्ष यो क्रम बढ्दो रहेको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का अनुसार अपाङ्गता भएका व्यक्तिहरूको कूल जनसङ्ख्याको ८० प्रतिशत विकासोन्मुख देशमा छन् । विश्व बैंकका अनुसार विश्वका अति गरिबमा २० प्रतिशत अपाङ्गता भएका व्यक्ति पर्दछन् ।
विद्यालय जाने उमेर समूहका अपाङ्गता भएका बालबालिकाहरूमध्ये ४० दशमलव ५ प्रतिशत आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय बाहिर रहेको र यसका लागि सरकारी निकायबाट पर्याप्त पहल नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाउँदै आएको छ । युनिसेफद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार ५ देखि १२ वर्ष उमेरका कूल अपाङ्गता भएका बालबालिकामध्ये ३० प्रतिशत बालबालिका अझै विद्यालयभन्दा बाहिर छन् ।
सरकारी प्रतिवेदनअनुसार सरकारले सञ्चालन गरेका ३५ हजार नौ सय ९३ बाल विकास केन्द्रहरूमा नौ लाख ७३ हजार नौ सय बालबालिकाले सिकिरहेका छन् । यिनमा अपाङ्गता भएका बालबालिकाको सङ्ख्या तीन हजार दुई सय ७० मात्र छ ।
अपाङ्गता भएका महिलामाथि हुने हिंसाहरूमा २१ प्रतिशत शैक्षिक संस्थामा हुने गरेका पाइएको छ । हरेक आठ जना विभिन्न सहायक सामग्री पाउनुपर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिहरूमध्ये केवल एक जनाले मात्र सहायक सामग्री पाएको तथ्याङ्कले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित