+

आदिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको दक्षिण भेगको आदिनाथको मन्दिरमा मेला भर्न भक्तजनको  घुइँचो लागेको छ । प्रत्येक वर्ष लक्ष्मी पूजाका दिन मन्दिरमा दर्शनका लागि सर्वसाधारणको घुइँचो लाग्दछ । 

काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । मन्दिरमा रहेका लक्ष्मी, सरस्वती लगायत देवीको आजको दिन दर्शन तथा पूजाआजा गरेमा आर्थिक समृद्धि प्राप्त हुने विश्वास छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ भनिन्छ । 

हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने मन्दिरलाई अर्धनारेश्वर तथा लोकेश्वरसमेत भनिन्छ । आदिनाथलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका प्रतीकका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरसँग दुवै धर्मका भक्तजनको सम्बन्ध पाइन्छ । 

आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म मेलासमेत सञ्चालन गरिएको मन्दिरमा दर्शन गर्दा रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ । भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारमा सुख तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

स्थानीय शरोज शाक्यका अनुसार बौद्ध अनुयायीले आनन्दादी लोकेश्वर तथा करुणाका प्रतिकका रुपमा दर्शन गर्छन् । लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । मन्दिरमा विभिन्न भाँडाकुँडा, गरगहना चढाउने गरेको पाइन्छ । विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ । मेला अवधिभर करिब दुई लाख भक्तजनले मन्दिरमा दर्शन गरेको जनाइएको छ ।

काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।  मन्दिर लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्विक महत्वको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट