+

दमौली बजारमा सडक विस्तारले गति लिँदै

तनहुँ ।  निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

दमौली बजारमा डिजाइन सेन्टरबाट २३र२३ मिटरलाई आधार मानेर सडक विस्तार शुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ । 

पाण्डेले भन्नुभयो– ‘केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।’ पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

पाण्डेले भन्नुभयो– ‘दशैँ बिदा अगाडिदेखि काम शुरु गरिएकामा दशैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।’

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताउनुभयो । 

पूर्वी खण्डमा आर्थिक वर्ष २०८० र ८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ । 

पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उहाँले बताउनुभयो । 

उहाँकाअनुसार आर्थिक वर्ष २०८० र ८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो । त्यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ २ अर्ब ९९ करोड रुपैयाँ विनियोजन भएकामा २ अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट