
सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो ।
चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै सङ्कटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा–२ का २५ वर्षीय विनोद पण्डितले बताउनुभयो । चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा कमी आएको उहाँको भनाइ छ ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ । माटोका भाँडा बनाएजति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ ।
कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन् । आधुनिकताको विकाससँगै अहिले बजारमा विद्युतीय दियो, झिलीमिली बत्तीलगायत उपकरण आउन थालेपछि चिन्ता थपिएको पण्डितको भनाइ छ ।
भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै माटोको जाहो गर्ने गरिएको छ । माटोबाट निर्माण गरेको सामग्री सोचेअनुसारको बिक्री नहुनु र आम्दानीसमेत नहुने गरेकाले वैकल्पिक पेसा रोज्न थालेको पण्डित बताउनुुहुन्छ ।
“विगतका वर्षमा माटोका भाँडाबाट राम्रै आम्दनी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी आएको र प्रयोगमा समेत कमी आएको छ”, उहाँले भन्नुभयो । नजिकमा माटो नपाइने र टाढाबाट प्रतिट्र्याक्टर माटो रु १० हजारदेखि रु २० हजारसम्ममा खरिद गरी बनाएको भाँडासमेत बिक्री नहुँदा समस्या हुने गरेको पण्डितको भनाइ छ ।
कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए । अहिले घर खर्चसमेत चलाउन समस्या हुन थालेको पण्डितले बताउनुभयो । वृद्धवृद्धाले पुख्र्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन् । तर युवा पुस्ताले भने वैकल्पिक बाटो रोज्न थालेका छन् ।
विगतमा पर्वका बेला एक परिवारले रु पाँच लाखसम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए । अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताउनुभयो । अहिले वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट रु एक लाखसम्म आम्दनी गर्ने गरेको उहाँले बताउनुभयो ।
अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकँुडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन् । मेहनत गरेअनुसारको प्रतिफल नपाउँदा निराससमेत हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताउनुभयो । सङ्घीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पुख्र्यौली पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति