
महोत्तरी । मधेसको मिथिलाक्षेत्रमा आज दोस्रो दिन पनि यता दशहारा भनिने दशैँ पर्वको ‘बेलनौत’ गरिँदैछ । परम्परागत रुपमा शारदीय नवरात्रको छैटौँ दिन षष्ठी (खस्टी) तिथिका दिन गरिने यो उत्सवमय विधि यसपालि तिथिको घटबढले ठाउँठाउँमा अघिपछि परेको हो ।
मङ्गलबार बिहान ७ बजेर १० मिनेटपछि सुरु भएर आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठीको भोग मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गले देखाएका छन् । सामान्यतया नवरात्रको छैटौँ दिन मध्याह्नपछि मनाइने यो उत्सवमय विधि षष्ठी तिथि पनि हिजै दिउँसोभरि कायम थियो । यस आधारमा हिजो ‘बेलनौत’ गरिनु ठिकै भएको पाका मैथिल बताउँछन् ।
‘दशहराको छैटौँ दिन पनि भयो, उत्सव मनाइने बेला दिउँसभरि षष्ठी तिथि पनि रह्यो, त्यसैले हामीले बेलनौत हिजै गर्यौ’ बर्दिबास–९ पशुपतिनगरका बासिन्दा मिथिला लोकपरम्पराका जानकार ८५ वर्षीय नथुनी महतो भन्नुहुन्छ, – ‘यद्यपि फूलपातीका अघिल्लो दिन बेलनौत मनाइने परम्पराले आज गरिनु पनि ठिकै हो, तर षष्ठी तिथिभित्रै गरिनुपर्छ ।’
एउटा अर्को मत षष्ठी तिथि सकिएर सप्तमी लाग्ने दिन ‘बेलनौत’ गरिनुपर्नेछ । यसअनुसार आज बिहान ७ बजेर ३३ मिनटसम्म षष्ठी रहेर सप्तमी लाग्ने हुँदा यो विधि आज गरिन लागेको मिथिला क्षेत्रका अधिकांश ठाउँको तयारी देखिन्छ । ‘फूलपातीको अघिल्लो षष्ठीको अन्तिम भोग रहेको दिन बेलनौतको परम्परा छ, त्यसैले हामी आज यो विधिको उत्सव मनाउँदैछौँ’, मटिहानीस्थित दुर्गा पूजा व्यवस्थापन समितिका चन्देश्वर साहले भन्नुभयो । साहले भन्नुभएजस्तै अधिकांश ठाउँमा आज ‘बेलनौत’ को तयारी देखिँदोछ ।
दशहरा पर्व (नवरात्र) को छैटौँ दिन मध्याह्नपछि षष्ठी तिथिको भोगमा वा फूलपातीको अघिल्लो दिन ‘बेलनौत’ गरिनुपर्ने भन्ने दुवै मत ठीक रहेको केही पाका मैथिलको धारणा छ । ‘तिथि, दिन र समयले दिँदा उपयुक्तताअनुसार गर्न सकियो’ जलेश्वर–४ का बासिन्दा पूर्वप्रशासक ८५ वर्षीय कृष्णचन्द्र झाले भन्नुभयो । यसपालि तिथिको भोग घटबढले नवदुर्गामध्ये कुष्माण्डाको पूजाआराधना दुई दिन गरिए झैँ बेलनौत पनि दुवै दिनमध्ये उपयुक्तताअनुसार गर्न सकिने झाको भनाइ छ ।
यसअनुसार मिथिलाका धेरै ठाउँमा फूलपातीको अघिल्लो दिनका आधारमा आज ‘बेलनौत’ को तयारी छ । यस विधिमा माटो मुछेर बनाइएका नवदुर्गाका प्रतिमाको आँखा पूmलपातीका दिन बिहान–बेलको भेट्नोले कोट्याएर उघार्ने चलन छ । यसै परम्पराका लागि एक दिनपहिले प्रतिमा निर्माणस्थलबाट सांस्कृतिक झाँकी र बाजागाजासहित बस्ती नजिकको बेलको रूखको एउटा फल रातो रुमालले छोपेर बाँध्ने चलन छ ।
भोलि देवीको आँखा उघारिन यो फल टिप्ने भावबाट बेललाई निम्ता दिइने विधिलाई ‘बेलनौत’ भनिएको हो । यसरी निम्ता गरिएको बेल फूलपातीका दिन सखारै फेरि बाजागाजासाथ टिपेर ल्याई त्यसको भेट्नुले देवी प्रतिमाको आँखा उघारिएपछि प्रतिमास्थल सर्वसाधारणको दर्शन र पूजाआजाका लागि खुला गरिन्छ ।
देवीको आँखा नउघारिएसम्म निर्मित प्रतिमा पर्दाले छोपिएर राखिन्छन् । आँखा उघारिएपछि प्रतिमा सजीव हुने विश्वास गरिन्छ । यसै मान्यतासाथ आँखा उघारिएपछि देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिने चलन बसेको पाका मैथिल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति