
बझाङ । तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी पर्नुभएकी उहाँलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए ।
त्यसले बिसेक नभएपछि थप उपचारका लागि उहाँ खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा जानुभयो । त्यहाँ गएपछि भने उहाँलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । ‘उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो’ १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भन्नुभयो– ‘सबै उपचार गर्न सदरमुकाम चैनपुर, धनगढी, काठमाडौँ, भारतको पलिया, नयाँ दिल्लीतिर जान्छन् । उहाँ खप्तड जानुभयो । हामी त अचम्ममा पर्यौँ ।’
तारालाई खप्तडमा उपचार गरेर सञ्चो भएपछि भने देवकुमारले पनि आफ्नी श्रीमतीलाई उपचार गर्न त्यही लगेको बताउनुभभयो । ‘दिल्लीको गर्मी र बझाङको चिसोले रूघा र ज्वरो बढेपछि खप्तडमा जाने निधो गर्यौँ । खप्तडमा नेपाली सेनाको ब्यारेक पुग्नु परेन । खापरदहमा हालै लागेको जगन्नाथ मेला ‘ओरालु’ मा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्यौँ र सञ्चो भयो’ थापाले भन्नुभयो ।
उहाँजस्तै पछिल्लो समय धेरै बिरामी खप्तडमा रहेको नेपाली सेनाको उपचार केन्द्रमा आकर्षित भइरहेका छन् । बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ का श्याम रावल त्यसको उदाहरण हुनुहुन्छ । लामो समय भारत बसेका उहाँ ओरालु मेला भर्न जाँदा लेक लागेर रिँगटा लाग्न थालेपछि आफन्तको सुझावपछि नेपाली सेनाको स्वास्थ्य शिविरमा गएर सञ्चो भएको बताउनुहुन्छ । ‘मलाई त खै के पो हुने हो जस्तो लागेको थियो । उपचारका लागि नजिकै अर्को विकल्प पनि थिएन । त्यहाँ गरिएको सानो उपचारले खप्तड बसाइ सहज भयो’ रावलले भन्नुभयो ।
खप्तड जाँदा हुने यस्ता समस्याका बेला खप्तड ब्यारेकमा रहेको उपचार सेवा धेरैका लागि प्रणदायी बनेको छ । पर्यटक, गोठाला, तीर्थालुलाई पछिल्लो समय यो सेवा ढुक्कले खप्तड जाने आधार बनेको छ । गोठालो गर्न गएका प्रेम खड्काले हाल नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि तथा उपचार सेवाले यहाँ आउनेलाई निकै सहज भएको बताउनुभयो । ‘गाउँघरतिरका स्वास्थ्य चौकीमा प्रायः सिटामोल मात्रै पाइन्छ, न गतिलो औषधि, न उपचार नै । त्यसैले हामी त सानो समस्या भए पनि खप्तडमै आउँछौँ । यहाँ औषधिसँगै परामर्श राम्रो छ’ उहाँले भन्नुभयो ।
समरजित गुल्म खप्तडका गुल्मपति सेनानी रामकुमार थापाले स्वास्थ्य समस्या लिएर खप्तडमा दिनहुँ बिरामी आउने गरेको बताउनुभयो । उहाँले मेलाका समयमा शिविर तथा अन्य समयमा ब्यारेकको मेडिकलबाटै उपचार गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार ओरालु सैन्डाँडा मेलामा मात्रै होइन, जगन्नाथ, दशहरालगायत मेलामा पनि हजारौँ तीर्थालु भक्तजनले नेपाली सेनाले आयोजना गर्ने गरेको शिविरबाट सेवा लिने गर्छन् ।
‘खप्तडमा लाग्ने मेलामा हरेक वर्ष हामीले स्वास्थ्यशिविर सञ्चालन गर्दै आएका छौँ । अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याले धेरैलाई समस्या हुन्छ । त्यसैले उहाँहरू लक्षित गरी शिविर आयोजना गर्ने गरिएको हो । त्यसबाहेक अन्य समयमा पनि दैनिकजसो २०र३० जनाले यहाँ उपचारका लागि आउने गरेका छन्’ गुल्मपति सेनानी थापाले बताउनुभयो ।
यस कार्यले जुनसुकै मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आइपर्ने भवितव्यमा निकै सहज भएको स्थानीयले बताएका छन् । यसका साथै मध्यवर्ती क्षेत्र आसपासमा हुने विभिन्न प्राकृतिक तथा अन्य दुर्घटनामा पनि उद्धार तथा खोज गर्न नेपाली सेनाले सक्रियता देखाउँदै आएको छ ।\
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति