+

दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन  पठनपाठनको अवसर पनि पाएका छन् ।

कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्नुहुन्छ । सन्तानविहीन उहाँ उनीहरूलाई  आफ्नै छोराछोरी मानेर माया गर्नुहुन्छ । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उहाँको दिनचर्याले उनीहरूप्रतिको उहाँको ममता छचल्किन्छ ।

आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उहाँले बताउनुभयो । ‘पहिला म बालबालिकासँगै धेरै रमाउँथे’ उहाँले भन्नुभयो– ‘उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।’

तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताउनुभयो । शुरुमा आफैँले लगानी गरेर सञ्चालन गरेको  संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । ‘मेरा छोराछोरी छैनन्’ उहाँले भन्नुभयो– ‘तर मलाई छोराछोरीको कुनै अभावको महशुस  उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।’ उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक  राखेको उहाँले बताउनुभयो ।

गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आउनुभएकी उहाँले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आउनुभएको छ । उहाँकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् ।

स्यानीका सङ्घर्ष

थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी ।  पढाइ जीवनका उहाँका सङ्घर्ष पनि कम छैनन् । उहाँको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उहाँ पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा वर्षातको बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उहाँ आफैँले पौडी खेलेर वारपार गर्नुहुन्थ्यो ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उहाँले त्यतिबेला कक्षा लिनुभयो । ‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे’, उहाँले भन्नुभयो ।

थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गर्नुभएको छ । पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट