
काठमाडौँ । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा घुइँचो लाग्ने गरेकामा आज दशैँको पहिलो दिन भएकाले भक्तजनको लर्को लागेको हो ।
राजधानीको मुख्य भागमा रहेको भद्रकाली मन्दिरसहित गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी लगायत मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
यसैबीच, मन्दिर वरपरको जीर्ण सत्तल भत्काएर बनाउने काम भइरहेकाले भक्तजनलाई असहज भएको गुनासो गरेका छन् । विगतका वर्षमा सहज रुपमा दर्शन एवं पूजाआराधना गर्ने गरिए पनि यस वर्ष भद्रकाली मन्दिरलाई दाहिन बनाएर घुम्न नसक्ने गरी रोकिएको दर्शनार्थी सुमन खड्गीले गुनासो गर्नुभयो । दाहिने बनाएर घुम्ने ठाउँ भएपनि निर्माण पक्षले रोकेको जस्तो देखिएको उहाँको गुनासो छ । दुर्गापक्ष लागेपछि विवाहको साइत नभएपनि शुभ समय भन्दै विवाह गर्ने जोडी पनि मन्दिर परिसरमा देखिन्छन् ।
देशभरका शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएका छन् । देवीका भजन, मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
नवरात्रका अवसरमा कम्तीमा पनि नौवटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको बताउनुभयो ।
यसैगरी उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बागेश्वरी लगायत देशभरका देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ ।
नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । ९ दिनसम्म विशेष साधना गरेमा मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।
दशैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।
दशेँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को लागेको दृखिन्छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्किन थालेका छन् । कतिपय जाने तयारीमा छन् ।
काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । यस वर्ष गत साताको भारी वर्षापछि आएको बाढीपहिरोले कतिपय राजमार्ग अवरुद्ध हुँदा आवागमनमा समस्या भएको हो । अझै देशका विभिन्न भागमा वर्षा भइरहेकाले सचेततापूर्वक यात्रा गर्न सरकारले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति