
काभ्रे । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ ।
रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताउनुभयो । ‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उहाँले बताउनुभयो ।
अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ ।
राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नम्बर पुलदेखि नेपालथोकसम्म मर्मत शुरु गरेको हो । पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।
डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ ।
हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने एकीन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ । राजमार्गको कूल एक सय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले त्यो राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड रुपैयाँ लागत थियो । रकम हालको मूल्याङ्कन अनुसार ५० करोडभन्दा माथि हो । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान दुई अर्ब रुपैयाँ भन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताउनुभयो । बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार ९ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।
जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३ र ०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण शुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा राजमार्ग निर्माण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति