
लुम्बिनी । लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयम्सेवक तथा आम सर्वसाधारण नागरिकमा अपिल गर्नुभएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो ।
प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपन्न परेकालाई राहत, पुनःस्थापनाको काम पनि अघि बढाएका छन् । बाढीपहिरोबाट प्रभावितलाई सुरक्षित स्थानमा सारिएको र पुनःस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।
नवलपरासी वर्दघाट–२ बाँसखोलामा नौ वटा घर बाढीका कारण डुबानमा परेका छन् । स्थानीय कोशबहादुर आले, हरिबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।
नारायणी नदीको पानीको बहाव बढ्दा बाँधसमेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ ।
बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा नौवटा घर जोखिममा परेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पाल्पाकै रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि सातजना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर सरुको घर जोखिममा परेपछि तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवी छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यलाई आफन्तको घरमा सारिएको छ ।
माथागढी–७ निवासी लोकमाया चुहानको घर जमिन भासिँदा जोखिममा परेपछि सातजना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हीराबहादुर ढेगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ ।
रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रिब्दीकोट–४ निवासी मीनप्रसादको घर अगाडि पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउँ–१ निवास नीरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
गुल्मी जिल्लाको छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति