
गुल्मी। जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ ।
बर्षाको समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जङ्गल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जङ्गल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ । दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् ।
गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जङ्गलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जङ्गलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जङ्गलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् ।
उनीहरूले जङ्गलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको रु ३० देखि ठूला मुठाको रु ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ कीे चन्द्रकली कुमाल बताउनुहुन्छ । “दिनभर जङ्गलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नु पर्छ, जङ्गलमा जुका लागेर हैरान हुन्छ, जङ्गलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति”, उहाँले भन्नुभयो ।
चन्द्रकलीमात्र होइन, उहाँजस्तै जङ्गलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुग्नुभएकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।” बर्खाको समयमा जङ्गलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उहाँहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जङ्गलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् ।
गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्दछ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको अग्र्यानिक निहुरो खोजीखोजी लैजाने गर्दछन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ ।
निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले रु २० देखि ३० हजारसम्म आम्दानी गर्छन । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति