
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी उत्पादन शुरु गरिएको हो ।
नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन शुरु गरिएको हो ।
फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ ? भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो ।
‘हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्यौँ’ अधिकारीले भन्नुभयो– ‘मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।’ गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम शुरु गरेको हो ।
फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाएको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । ‘एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन गर्यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ’ उहाँले भन्नुभयो ।
फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ । मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट शुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।
‘जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ’ उपप्रमुख चौधरीले भन्नुभयो ।
सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । क्रमशः सहरीकरणको शुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ’ घर्तीले भन्नुभयो– ‘यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।’
उत्पादित जैविक मलमा आवश्यक तत्व रहेरनरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताउनुभयो । उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।
हालसम्म फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कूल ४ करोड ३७ लाख ९८ हजार तीन सय ७४ रुपैयाँ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इञ्जिनियर विवेक पोखरेलले बताउनुभयो । ‘पुँजीगततर्फ ३ करोड दुई लाख १६ हजार तीन सय ६४ रुपैयाँ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट १ करोड ३५ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ’ उहाँले भन्नुभयो ।
फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो । योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्यानिक उत्पादनलाई सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन